रौतहट – विवाह हेर्न गएका एक बालकको रौतहटको गरुडामा अज्ञात व्यक्तिले चलाएको गोली लागेर मृत्यु भएको छ। गरुडा बैरिया-३ का राजराम साहकी छोरी पुनम साहको जिल्लाकै डुमरिया गाविस बाल्चनपुरका बिन्देलाल साहको छोरा जीतेन्द्रप्रसाद साहसँग राति विवाह भइरहँदा गरुडाका अच्छेलाल साहका १३ वर्षीय छोरा सुनिलकुमार साहलाई अज्ञात व्यक्तिले गोली हानेका थिए।
गोली लागेर घाइते भएका बालक साहलाई उपचारका क्रममा काठमाडौँ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
अनुसन्धानका लागि छजनालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक जनक शाहीले जानकारी दिए।
विवाहमा खुसी मनाउन बन्दुक पड्काउँदा बालकलाई गोली लागेको हुनसक्ने अनुमान प्रहरीको छ। मधेसमा विवाह समारोहमा खुसी मनाउन हुनेखानेले बन्दुक पड्काउने गर्दछन्। -रासस