– शोभाखर पन्थी
असार ७ अर्घाखाँची । अर्घाखाँची जिल्लाको एसएलसी परिक्षाको नतिजालाइ लिएर अभिभावकहरुले चिन्ता गर्न थालेका छन् । देशभरको नतिजाभन्दा २६ प्रतिशत कम अर्थात २९.२६ प्रतिशत मात्र विद्यार्थी एस.एल.सी परिक्षामा उत्तीर्ण भएपछि अभिमभावकहरुमा चिन्ता बढ्न थालेको हो ।
अघिल्लो वर्ष ३४ प्रतिशत उत्तीर्ण भएकोमा यस वर्ष त्यो परिणाम पनि कायम नभइ २९ प्रतिशतमा मात्र सीमित रहेको छ ।
जिल्लाबाट ६३ विद्यालयका ३ हजार ६ सय ८४ जना विद्यार्थी नियमित परिक्षामा सहभागी भएकोमा विशिष्ट श्रेणीमा १५ जना प्रथम श्रेणीमा ३ सय १९ द्दितिय श्रेणीमा ७ सय ६ जना र तृतीय श्रेणीमा ३८ गरी जम्मा १ हजार ७८ जना विद्यार्थी उत्र्तीण भएका छन् ।
एक्जामटेड समुह तर्फ भने २ हजार ८४ विद्यार्थी मध्ये प्रथम श्रेणीमा १ जना द्धितीय श्रेणीमा ६९ जना र तृतीय श्रेणीमा ४८ गरी १ सय १८ जना विद्यार्थी उत्र्तीण भएका छन् । उत्र्तीण नतिजा ५.६६ प्रतिशत हो ।
जिल्लाको समग्र नतिजालाई हेर्दा सुविधा सम्पन्न विद्यालयहरुको नतिजा निक्कै दयनिय देखिएको छ । भर्खरै स्थापना भएका र निजी श्रोतबाट कम योग्यताका शिक्षकहरु राखी संचालित विद्यालयको तुलनामा पुराना र सुबिधा सम्पन्न विद्यालयहरु निक्कै कमजोर देखिएका छन् ।
जिल्लामा कुनै पनि विद्यालयको नतिजा शुन्य नभए पनी भगवति मावि ढिकुरा शिवादह मावि जुकेना भगवति मावि नुवाकोटबाट एक-एक जना मात्र विद्यार्थी उत्तीर्ण भएका छन् । यसैगरी दुवासेश्वर मावि खिदीम बाट २ जना सरस्वति मावि पणेनामा ४ मन्दे्र मावि सुवर्णखालमा ४ सुर्य मावि गोखुङ्गामा ५ गौरा मावि ठाडा ५ जनजागृति मावि सिद्धारा ५ जनजागृति मावि धनचौरमा ६ अर्घामेहेल पानी हंसपुर बाट ६ जना मात्र विद्यार्थी परिक्षामा उत्तीर्ण भएका छन् ।
जिल्लामा परिक्षामा सामेल भएका ५ वटा निजी विद्यालयहरुमध्ये ४ वटा विद्यालयको नतिजा शतप्रतिशत रहेको छ । निजी विद्यालय नतिजा राम्रो भएपनि उत्कृष्ट नतिजा भने युवा वर्ष जनता रविचित्र मावि हटारीनेटा अर्घाखाँचीले ल्याएको छ ।
प्राथामिक तह मात्र स्थायी रहेको सो विद्यालयले निजी श्रोतबाट शिक्षक नियुक्त गरेर पनि एक जना विशिष्ट श्रेणी सहित ३२ जना विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण गराइ सत प्रतिसत विधार्थी गराएको छ ।
पछिल्ला वर्षहरुमा जिल्लाको नतिजा खस्कदै जानुलाई जिल्ला शिक्षा कार्यालयले परिक्षा मर्यादित भनेर उम्कने प्रयास गरे पनि अधिकाम्स विद्यालयको पठन पाठन प्रत्येक वर्ष खस्कदै गएको अभिभावकहरुको गुनासो छ ।
२०४६ सालको परिवर्तन पछी विद्यालयहरुमा हुने गरेको राजनितीकरण शिक्षक नियुक्तिमा हुने अर्पादर्शीता घरपायक नोकरी यथार्थ मुल्याङ्कन गर्ने परिपाटीको अभाव जिल्ला शिक्षा कार्यलयबाट गरीने अनुगमन र निरीक्षण कमजोर हुनुका साथै अभिभावकहरुमा सचेतना आउन नसक्नु र विद्यार्थीहरुमा पढाई लेखाई भन्दा अन्य कुराहरुमा ध्यान जानुले पठन पाठनको स्तर खस्कदै गएको बुद्धि जीविहरुको भनाइ छ ।
जिल्लाका ठुला र सम्पन्न विद्यालयहरु राजनीतिक दलका पार्टी कार्यालय जस्तै हुने गरेका छन् । पार्टीले गर्ने सभा समारोहरु मात्र होइन दलका नेताहरुले स-सानो कार्यक्रममा पनि विधार्थी हरुलाइ उस्काएर लैजाने गरेका छन् ।
जिल्लाका प्रमुख राजनीतिक दलहरु माओवादी कांग्रेस एमालेमा गरी करीव ५ दर्जन जिल्ला कमिटीको जिम्मेवार स्थानमा रहेर काम गर्दै आएका छन् । कतिपय विद्यालयमा त स्वयं प्रधानाध्यापक समेत राजनीतिक दलको उच्च स्थानमा बस्दै आएको अभिभावकहरुको गुनासो छ ।
शिक्षकहरुले पेशालाई भन्दा बढी महत्व राजनीतिकलाई दिने र जस्तो सुकै काम गरे पनि दलहरुको संरक्षण रहने भएकाले जिल्लामा शिक्षकहरुले खुलेरै राजनीती गर्ने गरेका छन् ।
राजनितिक हानथापका कारण जिल्लाका विद्यालयहरुमा व्यवस्थापन समिती बन्न नसक्नु विद्यालयमा दरबन्दी खाली भएको वर्षौसम्म पनि शिक्षक नियुक्ती गर्न नसक्नु शिक्षक नियुक्ती गरिएका विधालयमा पनि विषयगत शिक्षक नियुक्त गर्न नसक्नु लगायतका कारण हरु जिल्लाको शैक्षिक विकासमा बाधक बनेका छन ।