परीक्षाको तयारी कसरी गर्ने ?

-ललिता अधिकारी (खुसी) पाणिनी  -५ अर्घाखाँची।

परीक्षाको तयारी कसरी गर्ने ?

प्रिय विद्यार्थी भाइबहिनीहरू हामी शैक्षिक सत्र २०८१ को करिव करिव अन्त्यतिर आइसकेका छौ । यसका लागि तपाई अझ बढी चनाखो भएर अगाडि बढ्नु पर्ने देखिन्छ । सबै अभिभावकहरू पनि आफ्ना नानी बाबुहरू सफलताको उच्च बिन्दुमा पुगेको देख्न आतुर हुनुहुन्छ र विद्यार्थी स्वयमले पनि अर्काे नयाँ कक्षा अझ भनौं सफलताको अर्काे खुड्किला चढ्दा आनन्दको अनुभूति गर्नु नै हुन्छ ।

यसका लागि थप मेहनत र परिश्रमको अत्यन्तै खाँचो छ । परीक्षाको तयारी गर्ने सही तरीका अप्नाउँदा राम्रो नतिजा प्राप्त गर्न सकिन्छ । मैले केही सल्लाह र सुझाव हजुरहरूका लागि पस्किएकी छु । यी सल्लाह र सुझाव पालना गरेर प्रभावकारी नतिजा हासिल गर्नुहुन्छ भन्ने विश्वास लिएकी छु ।

परीक्षाको तयारीका लागि सर्वप्रथम योजना बनाउनुहोस् यसका लागि समय तालिका तयार गरी कुन विषय कहिले र कसरी पढ्ने र कति पढ्ने भन्ने कुरा तय गर्नुहोस् । महत्वपूर्ण पाठ्यक्रम हेरेर मुख्य कुरा छनोट गरी बुँदा निर्माण गर्नुहोस् ।

यसरी बुँदा तयार गरी प्रत्येक विषयको नोट पढेर सारांश लेनुहोस् । सारांश लेख्दा अझै प्रभावकारी र उपयोगी बन्छ । पढाइलाई बोझका रूपमा नलिइ आनन्दले रमाइ रमाइ पढ्ने वातावरण तयार गर्नुहोस् । रटेर भन्दा पनि बुझेर पढ्ने बानीको विकास गर्नुहोस् । यसले लामो समयसम्म सम्झन मद्दत गर्छ । पुराना प्रश्न पत्र सङ्कलन गरी धेरै भन्दा धेरै अभ्यास गर्नुहोस् ।

यसका साथै हस्तलेखनमा पनि सुधार ल्याउनुहोस् यदि अक्षर स्पष्ट नभएमा तपाईले अङ्क प्राप्त गर्न कठिन हुन्छ । दैनिक रूपमा पढेका कुराहरू पुनः दोहोराउने बानी गर्नुहोस् र स्वस्थ जीवन शैलीमा पनि विशेष ध्यान दिनुहोस् । यसका लागि सन्तुलित खाना खानुहोस् ।

कम्तिमा पनि आठ घण्टासम्म मस्तले सुत्ने बानी गर्नुहोस् किनकि निद्रा राम्रोसँग पुगे मात्र दिमागले पनि राम्रो काम गर्छ । धेरै तनाब लिने, मनमा कुरा खेलाउने बानी त्याग गर्नुहोस् । बिहान उठ्नासाथ फ्रेस भएर हल्का शारीरिक अभ्यास गर्नुहोस् यसले तपाईको शरीरलाई मानसिक शान्ति र उर्जा दिन्छ ।

तपाईले आफ्नो आत्मविश्वास बढाउन सधैं सकारात्मक सोच्ने गर्नुस् किनभने सकारात्मक सोच बाँच्ने एउटा गतिलो आधार हो । यसले सम्पूर्ण विद्यार्थीलाई सफलताको मार्गमा हिड्न प्रेरित गर्छ । मैले उत्कृष्ट नतिजा हासिल गर्छु भन्ने उद्देश्य राखेर राम्रो तयार गर्नुहोस् ।

कठिन विषय वा कमजोर विषयहरूलाई अझ बढी समय दिनुहोस् यदि कुनै विषय कठिन छ भने तुरुन्तै शिक्षक वा साथीसँग छलफल गर्नुहोस् । समय मिलाएर परीक्षा शैलीमा लेख्ने अभ्यास गर्नुहोस । सकेसम्म मैले राम्रो तयारी गरेको छु भन्ने सकारात्मक सोच राख्नुहोस् ।

तपाईले निरन्तर परिश्रम गर्नुभयो भने पक्कै पनि राम्रो सफलता प्राप्त गर्नुहुन्छ भन्ने विश्वास लिएकी छु । सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई वार्षिक परीक्षा सफल रहोस् हार्दिक शुभकामना !


 शिक्षक : बाघभैरब बोर्डिङ्ग हाई स्कुल, कीर्तिपुर
ललिता अधिकारी (खुसी) पाणिनी गाउँपालिका मैदान ५ बहखोर ,अर्घाखाँची।