भक्तपुरमा केक खाँदा कुखुराको चल्लाको टाउको भेटिएपछि उत्पादन कम्पनीलाई कारबाहीको माग

भक्तपुर । केक खाँदा कुखुराको चल्लाको टाउको भेटिएपछि भक्तपुरका बासिन्दाले केक उत्पादन कम्पनीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका छन् ।

भक्तपुरको सूर्यविनायकस्थित शान्ति फुड प्रालिले उत्पादन गरेको केक आज मध्यपुर थिमी नगरपालिका कार्यालय अगाडिको पसलमा अक्कलबहादुर लामाले खाँदा कुखुराको चल्लाको टाउको भेटिएको थियो ।

कुखुराको अण्डाभित्र रहेको चल्लाको टाउको भेटिएको र केक बनाउने क्रममा हतारमा अण्डा फुटाएर हाल्दा अण्डाभित्र रहेको चल्ला नै परेको हुनसक्ने प्रहरीले बताएको छ ।टाउको भेटिएपछि स्थानीय उपभोक्ताले केक कम्पनीको विरोध गर्दै नाराबाजी गरेपछि पीडितले महानगरीय प्रहरी वृत्त थिमीमा उजुरी गरेलगत्तै आजै प्रहरीले प्रालिका प्रमुख बुद्धिराज पाठकलाई नियन्त्रणमा लिएको थियो ।

उपभोक्तासँगको सरोकारको विषय भएकाले प्रहरीले भक्तपुर उपभोक्ता मञ्चको रोहबरमा घरेलु तथा साना उद्योग कार्यालयलाई आवश्यक छानबिनका लागि बुझाएको प्रहरी निरीक्षक मधुसुदन न्यौपानेले बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालयकी प्रमुख विष्णुकुमारी भट्टराईले उद्योगमाथि कारबाही गर्नुपर्ने अवस्था आए जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिने बताउनुभयो ।

उपभोक्ता मञ्चका अध्यक्ष पूर्णकृष्ण श्रेष्ठले उपभोक्ताको जीवनमाथि खेलवाड गर्ने कम्पनीलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।