दैलेख अस्पतालमा अत्यधिक रक्तश्रावका कारण एक २६ वर्षीया सुत्केरीको मृत्यु

दैलेख – दैलेख जिल्ला अस्पतालमै मंगलबार एक सुत्केरीको मृत्यु भएको छ ।
अस्पतालका प्रमुख डा. खगेन्द्रजंग शाहका अनुसार अत्याधिक रक्तश्रावले गर्दा वडाखोला
गाविस-१ ताराचौरकी २६ वर्षीया निरुपा थापाको मृत्यु भएको हो ।

परिवारका सदस्यहरुले सुत्केरी व्यथा नलाग्दै शनिबार निरुपालाई अस्पताल भर्ना
गराएका थिए । सुत्केरीको मृत्यु भएपनि शिशुको अवस्था भने सकुशल छ । पाठेघर
च्यातिनुका साथै आवश्यक मात्रामा खुम्चिन नसक्दा अत्यधिक रक्तश्राव हुने गरेको
डाक्टर शाहले जानकारी दिए ।

सुत्केरी हुँदा अत्यधिक रक्तश्रावका कारण गत शुक्रबार सात्तला गाविसमा एक
सुत्केरीको मृत्यु भएको थियो । १८ वर्षीया लक्ष्मी विकको रक्तश्राव नरोकिएपछि
सात्तला स्वास्थ्य चौकीबाट सुर्खेततर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।