सरकारले भु-गोलको सिमाङ्कनको कुनै ख्याल नगरी होचुवाको भरमा नगरपालिकाको घोषणा गरेपछी जिल्ला बासीमा आक्रोस बढेको छ ।
जिल्लाको सदरमुकाम सन्धिखर्कसँग जोडिएका फुदवाङ्ग गच्छे र बिहार बजारलाई नगरपालिका बाट बाहिर पारी वाङ्ला नरपानी र सन्धिखर्कलाई मिलाएर नगरपालिका बनेको घोषणा गरिएपछि स्थानीय बासिन्दाहरु आक्रोसित भएर सरकारको कटु आलोचना गर्न थालेका छन् । उनीहरुले सन्धिखर्कसँगै जोडिएको बजार एरियालाई कटाएर २० किलोमिटर टाढाका गाउँहरुलाई मिसाएर नगरपालिका घोषणा गर्नु न्यायसँगत नभएको भन्दै तत्काल सिमाङ्कन र भुगोलको बारेमा पुनर्विचार नगरिए कडा आन्दोलन गर्ने भन्दै सांकेतिक रुपमा आन्दोलनको सुरुवात गरेका छन् ।
आज जिल्लाको खाँचीकोट गाविसका स्थानिय बासिन्दाहरुले खाँचीकोट गाविसलाइ नगरपालिका भित्र पार्न माग गर्दै जिल्ला प्रशासन र जिल्ला विकास समिती मार्फत स्थानिय विकास मन्त्रालयलाई ज्ञापन पत्र पठाएका छन् ।
उनीहरुले नगरपालिकाको सिमाङ्कन हेरफेर गर्नुपर्ने भन्दै आज विहान १ घण्टासम्म सन्धिखर्कमा चक्काजाम समेत गरेका थिए । ( तस्बिरः नगरपालीकामा समाबेस गर्न माग गर्दै खाँचीकोटको फुदबाङमा चक्काजाम)
यसो त सरकारले नगरपालिका घोषणा गरेको प्रति जिल्लामा कि्रयासिल दलहरुले समेत असन्तुष्टि जनाएका छन् ।
सरकार समर्थक मुख्य घटक एकिकृत नेकपा माओवादी र नेकपा एमालेका जिल्ला नेताहरुले नगरपालिका घोषणा गर्नु राम्रो पक्ष भएपनि नगरपालिकाको भु-गोल र सिमाङ्कन प्रति आफुहरुको असमति रहेको जनाउँदै तत्काल सिमाङ्कन मिलाउने प्रकि्रया अगाडि नबढाएसम्म नगरपालिकाको कुनै औंचित्य नहुने बताएका छन् ।
माओवादी जिल्ला ईन्चार्ज चन्द्र बहादुर खड्का उज्ज्वलले नगरपालिकाको सिमाङ्कनको विषयलाई लिएर दलहरुबीच छलफल जारी रहेको बताउँदै सिमाङ्कन मिलाउनका लागि तत्काल सरकारको ध्यानकर्षण गराउन सबै दलहरुको सहमति जुटाउने प्रयास भईरहेको बताए ।