– मनोज अधिकारी
पोखरा – एक वर्षमै कास्की जिल्ला अदालतबाट ३ सय ७५ सम्बन्ध विच्छेद भएका छन्। आर्थिक वर्ष २०६७/०६८ मा कुल ४ सय २४ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा ३ सय ७५ मुद्दा फर्छ्योट भएको जिल्ला अदालतले जनाएको छ। यो अघिल्लो वर्षभन्दा झण्डै ८० प्रतिशत बढी हो।
अघिल्लो आव २०६६/०६७ मा कास्कीमा २ सय ९८ सम्बन्ध विच्छेदका मुद्दा फर्छ्योट भएको थियो।
आपसी बेमेल, शंकालु व्यवहार, घरेलु हिंसा, देश-विदेशको अलग बसाइलगायत कारणले सम्बन्ध विच्छेदका मुद्दामा वर्षेनी वृद्धि भइरहेको जिल्ला अदालतका स्रेस्तेदार सूर्यबहादुर थापाले जानकारी दिए। यीमध्ये कुनै पनि कारणसहित निवेदन लिएर पत्नी आए सजिलै सम्बन्ध विच्छेद हुने कानुनी व्यवस्था छ। यस्ता मुद्दा लिएर आउने अधिकांश महिला पढेलेखेका र प्रेम विवाह गरेका छन् ।
थापाका अनुसार सम्बन्ध विच्छेद जिल्ला अदालतमा दायर हुने मुद्दामध्ये सबैभन्दा बढी हो। गत वर्ष दर्ता भएका सम्बन्ध विच्छेदका ४९ मुद्दा फर्छ्योट हुन बाँकी छ। अघिल्लो वर्ष यसैगरी ६५ वटा मुद्दा फर्छ्यौट नभई सरेर आएका थिए। दुई वर्षअघि आव २०६५/०६६ मा ३ सय १६ निवेदनमध्ये २ सय ८९ वटा सम्बन्ध विच्छेद भएको थियो।
भित्री कारण अर्कै भए पनि धेरैजसो महिला सजिलोका लागि घरेलु हिंसाको बहाना लिएर सम्बन्धविच्छेदका लागि अदालत पुग्छन्। ‘८० प्रतिशत महिला घरेलु हिंसाका कारण देखाएर पतिसँग सम्बन्ध विच्छेद गर्न आउँछन्,’ स्रेस्तेदार थापाले भने, ‘बाँकीले खान-लाउन नदिएको, हेला गरेको, विदेशमा गएर नफर्किएको, अर्कै केटी लिएर हिँडेको जस्ता कारण देखाउँछन्।’
महिलाले कुनै पनि बहानामा निवदेन दिए उसको पति झिकाएर सजिलै सम्बन्ध विच्छेद हुने कानुनी व्यवस्था छ। यसले सानोतिनो कुरामै असमझदारी भए पनि पत्नीले चाहँदैमा तुरुन्तै सम्बन्ध विच्छेद भएको हो। कानुन व्यवसायीका अनुसार पतिले सम्बन्ध विच्छेद् गर्न चाहे गाउँ/नगरदेखि सिफारिस लिएर आउनुपर्छ भने अदालतमा पत्नीले मन्जुरी दिनुपर्छ।
पतिसँग छुट्टिएर अंश लिई स्वतन्त्र हुन, आफूखुसी विदेश जान, अर्कै युवकसँगै प्रेम वा घरजम बसाउन महिलाबाट सम्बन्ध विच्छेदका मुद्दा आउने गरेका छन्। ‘महिलाले सम्बन्ध विच्छेद् गर्नुका भित्री कारण अर्कै भए पनि कानुनी सहजताको फाइदा उठाएर अधिकांशले कृत्रिम बहाना बनाउने गरेका छन्,’ एक कानुन व्यवसायीले भने, ‘यसरी सम्बन्ध विच्छेद गर्न आउन महिला अधिकांश प्रेम विवाह गरेका, छोराछोरीका आमा भइसकेका र २५ देखि ३५ वर्ष उमेर समूहका हुन्छन्।’
अदालतमा सम्बन्ध विच्छेदका कतिपय मुद्दा फर्जीसमेत आउने गरेका छन्। अंश तथा अन्य लेनदेनको व्यवहार मिलाउन र विदेश यात्रासम्मका अवसरका लागि नियोजित रुपमै यस्ता मुद्दा लिएर आउने प्रचलन पनि बढ्दो छ।
‘वास्तविक कारण जेसुकै भए पनि सबै प्रक्रिया पूरा गरेर आएपछि अदालतले सम्बन्ध विच्छेद गराउनै पर्छ,’ स्रेस्तेदार थापाले भने, ‘पति-पत्नी यहाँ आएर सम्बन्ध विच्छेद गराउँछन् र ढोकैदेखि हात समातेर जान्छन्।’