– टेकनारायण भट्टराई
पाल्पा – जिल्ला जनस्वास्थ्य पाल्पाका कर्मचारीले कार्यालय समयमा बोका काटेर भोज गरेका छन्। कार्यालयको बाहिरी गेट बन्द गरेर उनीहरुले कार्यालयको तल्लो तलाको बरण्डामा शुक्रबार १२ बजे बोका काटेका हुन्।
१९ केजीको बोका काटेर कर्मचारीले बाँडेर मासु घर लगेका कार्यालय सहयोगी बाबुराम खड्काले बताए। भुटुवा मासु उनीहरुले कार्यालयमै पकाएर खाएका हुन्। जनस्वास्थ्य कर्मचारीले मगाएको भन्दै पालुङमैनादी उपस्वास्थ्य चौकीका कार्यालय सहयोगी नुमबहादुर पुनले बोका डोर्याएर आएका थिए। बोका काट्न मुझुङ उपस्वास्थ्य चौकीका कार्यालय सहयोगी भोजबहादुर भाट पनि झिकाइएका थिए भने जनस्वास्थ्यका थप दुई कार्यालय सहयोगी बाबुराम खड्का र उपेन्द्र मल्ल गरी ४ जना खटिएका थिए।
कार्यालयको ठूलो स्टोभमा पानी तताएर बोकाको रौँ बरण्डामै खुर्केर सोझै सडकमा बगाइएको स्थानीय सोम पाण्डेले बताए। ग्रामीण स्वास्थ्य कार्यकर्ताले काँधमा बोकी हिँड्ने भ्याक्सिन बाकस (कोल्ड बक्स) लाई कुर्सी बनाएर कर्मचारी मासु टुक्राउँदै थिए। स्वास्थ्य सन्देश लेखिएका प्रचामा मासु पोको पारिएको थियो भने भुँइमा बिच्छाउन पनि सन्देश प्रचा प्रयोग गरिएको थियो।
जिल्ला जनस्वास्थ्य प्रमुख महेन्द्रध्वज अधिकारीले आफू पोखरा काममा गएको मौकामा कर्मचारीले बदमासी गरेको बताए। मैले बुझेर आवश्यक नैसियत दिन्छु उनले भने। माथिल्लो स्तरका कर्मचारी पत्रकारको उपस्थिति देखेर शौचालय र कार्यालयको छत तर्फ लागेका थिए। उनीहरुले प्रतिकृया दिन इन्कार गरे। तलब बढेको खुसीमा कार्यालयमै बोका काटेको तर अहिले गल्ती महसुस भएको नाम नलेख्न आग्रह गर्दै एक कर्मचारीले बताए ।