सिरियामा सरकार विरोधी प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गरेको कारवाहीमा १३६ जनाको मृत्यु



 

सिरियामा सरकार विरोधी प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गरेको कारवाहीमा १३६ जना मारिएका छन् । प्रदर्शनकारीहरु भेला हुने मुख्य शहर हामामा सुरक्षाकर्मीले आज बिहानबाट धावा बोलेका थिए ।

 

सुरक्षाकर्मीको लगातारको गोलाबारीबाट १३६ प्रदर्शनकारीको ज्यान गएको छ । स्थानीय चिकित्सकका अनुसार सुरक्षाकर्मीले ट्यांकबाट फायरिङ गरिरहेका छन् । बिभिन्न दिशाबाट उत्तरी शहर हामामा प्रबेश गर्ने क्रममा प्रदर्शनकारीहरुले सुरक्षाकर्मीलाई रोक्न अपनाएका सबै उपाय विफल पारिदिएका छन् ।

 

चिकित्सकहरुका अनुसार शहरका अस्पतालहरु रक्ताम्मे भएका छन । धेरै घाइतेको अबस्था चिन्ताजनक रहेकोले मृतकको संख्या अझै बढ्न सक्ने स्थानीय अधिकारीहरुले जनाएका छन् । सिरियामा केही महिना यता राष्ट्रपति बशार अल असादको राजीनामा मागेर ब्यापक बिरोध प्रदर्शन जारी छ । सन् १९८२ मा राष्ट्रपति असादका बाबुबिरुद्ध भएको प्रदर्शनलाई दबाइएको थियो । पछिल्लो पटक असादविरुद्धको प्रदर्शनमा सहभागि जनता प्रदर्शन नरोक्ने अडानमा छन् ।

 

प्रदर्शनमा व्यापक दमन भएको भन्दै विभिन्न मानवअधिकारवादी संगठनले चिन्ता व्यक्त गरेका छन् । मानवअधिकारकर्मीहरुले मध्य मार्चबाट शुरु भएको प्रदर्शनको क्रममा १५ सय सर्बसाधारण र ३ सय ५० सुरक्षाकर्मी मारिएको जनाएका छन् । मानवअधिकारवादी संगठनहरुका अनुसार १२ हजार जनलाई पक्राउ गरिएको छ भने तीन हजार बेपत्ता छन् ।