ग्वाटेमालाको अदालतले चार पूर्व सैनिकलाई नरसंहारको आरोपमा ६ हजार ६० वर्षको कारवास सजाय

ल्याटिन अमेरिकी देश ग्वाटेमालाको अदालतले चार पूर्व सैनिकलाई नरसंहारको आरोपमा ६ हजार ६० वर्षको कारवास सजाय सुनाएको छ । सन् १९८२ ताकाको गृह युद्धका क्रममा २ सय १ मानिसको नरसंहार गरेको आरोप प्रमाणित भएपछि यिनीहरुलाई यति लामो सजायँ सुनाइएको हो ।

 

 सजायँ पाउनेहरुमा ड्यानियल मार्टिनेज, म्यानुयल पोप सन, रेयिस कोलिन गाउलिप र कार्लोस कारियास छन् । उनीहरुले मानवता विरोधी अपराध गरेको आरोप स्वीकार गरेका छन् । सेनाको उग्रवाद नियन्त्रण युनिटका सदस्य रहेका उनीहरुले डोस एरेस गाउंमा वामपन्थी गुरिल्ला विद्रोहीलाई शरण दिएको आरोपमा २ सय सर्वसाधरणको अत्यन्त क्रुर तरिकाले हत्या गरेका थिए ।

 

उक्त घटनालाई ग्वाटेमालामा ३६ वर्ष सम्म चलेको गृह युद्धको सबैभन्दा डरलाग्दो घटना मानिन्छ । ग्वाटेमालामा सन् १९९६ सम्म चलेको गृहयुद्धमा करिब २ लाख मानिसको ज्यान गएको अनुमान गरिएको छ ।