इजिप्टको ईतिहासमा पूर्व राष्ट्रपति होस्नी मुबारक विरुद्धको सुनुवाई


 

इजिप्टको ईतिहासमा पूर्व राष्ट्रपति होस्नी मुबारक विरुद्धको सुनुवाई पहिलो पटक कायरोमा भएको छ । गत अप्रिलदेखि कायरोको शर्म अल शेख अस्पतालमा नरजबन्दमा रहेर उपचार गराइरहेका मुबारकलाई प्रहरीले स्ट्रेचरमा प्रहरी प्रतिष्ठान लगेको थियो ।

 

सुनाइको बेला उनी र उनाका दुई छोराहरुले सबै आरोपको प्रतिपाद गर्दै आफु दोषी नभएको बताए। अर्को सुनाइ यही अगस्ट महिनाको १५ तारिका हुनेछ।

 

असुरक्षाको कारण देखाउँदै सुनुवाईका लागि प्रहरी प्रतिष्ठानमै अस्थायी अदालत खडा गरी मुबारकको सुनुवाई भएको थियो । गत फेब्रुअरीको जनविद्रोहका क्रममा दमनका लागि आदेश दिएको र शासनमा रहंदा व्यापक भ्रष्टाचार गरेको आरोप मुबारकमाथि लगाइएको छ । इजिप्टमा ३२ वर्ष शासन गरेका मुबारकले गत फेब्रुअरीको जनविद्रोह थेग्न नसकी राजीनामा दिएका थिए । अरोप प्रमाणित भएमा मुबारकलाई मृत्यु दण्डको सजाय समेत हुन सक्छ । ८३ वर्षिय मुबारकलाई सुनुवाईका लागि प्रहरी प्रतिष्ठान लैजांदा सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको थियो ।

मुबारकका वकिलले भने उनी गम्भीर विरामी भएको बताएका छन् तर मुबारक विरोधीहरुले भने यो सबै नाटक भएको दाबी गर्दै आएका छन् । प्रतिष्ठान बाहिर मुबारकका विरोधी र समर्थकबीच झडप समेत भएको थियो । उता, कायरोको ताहिरिर चोकमा भेला भएकाहरुलाई तिरवितर पार्न सुरक्षाकर्मीले हवाई फयार समेत गरेको थियो । इजिप्टमा गत फेब्रुअरीमा चलेको १८ दिने जनआन्दोलनमा ८ सय ५० भन्दा बढीको मृत्यु भएको थियो ।