– कमल थापा
रुकुम – रोल्पाको तेबाङ गाविसमा पहिरो जाँदा एकै परिवारका ३ जना बालबालिकाको मृत्यु भएको छ। आमा बाबु गम्भीर घाइते भएका छन्। तेवाङ १ गजुधारा निवासी बावु बालाराम थापा र आमा कुमारीका ९ बर्षिय मनु थापा, ११ वर्षीय नर्मा थापा र ५ बर्षीय छोरा बिमल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
घरमा सुतिरहेको अवस्थामा बुधबार बिहान साढे १ बजेतिर माथिबाट आएको पहिरोमा पुरिएर उनिहरुको घटनास्थलमै मृत्यु भएको हो।
पहिरोमा परि घाइते बाबु बलाराम र कुमारीको अवस्था गम्भीर रहेको छ। घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। पहिरोमा पुरिएर दुई गोरु समेत मरेका छन्। मृतक र घाइतेको उद्दारका लागि इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरिक्षक बिवेक कुमार शाह नेतृत्वको टोली र स्थानियवासी घटना स्थल पुगेका छन। प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का गराइरहेको छ। पहिरोले घर पुरिएपछि घरभित्रका सवै सामान निकाल्न सकिएको छैन्।