नुवाकोट – विष सेवन गरी आत्महत्या गरेकी महिलाको मलामी गएका १४ जनालाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरेको छ।
जिलिङ-६ महादेवखर्ककी २४ वर्षीया बिन्दामाया तामाङको पोस्टमार्टम नगरी शव जलाएको कारण मृतक महिलाको घर पक्ष र माइती पक्षका नातेदारहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक नवराज मल्लले जानकारी दिएका छन्।
पक्राउ पर्नेहरूमा मृतकका ससुरा लालसिंह तामाङ, काका ससुरा प्रेमबहादुर तामाङ, ठूलोबुबा भक्तबहादुर तामाङ, भाइ शेरबहादुर तामाङलगायत १४ जना छन्।
बिन्दामायाले घरमै विषादी सेवन गरी आत्महत्या गरेपछि घर र माइती पक्षबीच सहमति भएपछि गाउँमै शव जलाइएको थियो। स्थानीय रामजी तामाङका अनुसार शव जलाउनका लागि पोस्टमार्टम र प्रहरी रिपोर्ट आवश्यक पर्ने थाहा नभएका कारण आफन्तहरूले शव जलाएका हुन्।
प्रहरी कार्यालयका अनुसार आत्महत्या भनिएता पनि प्रहरीलाई जानकारी नदिएको र घटनाको बारेमा अनुसन्धान गर्न नपाएकोले मृत्यु शङ्कास्पद रहेको छ। रासस