अफ्रिकी मुलुक सोमालियाका राष्ट्रपति शेख शरीफ अहमदले राजधानी मोगादिशुमा इस्लामिक विद्रोही समुह अल शबाब पराजित भएको घोषणा गरेका छन।
शुक्रबार रातभरको संघर्षपछि अल कायदासंग आवद्ध विद्रोहीहरु राजधानी छाड्न बाध्य भएको उहांले बताए । तर अल शबाबले भने सैन्य रणनीति परिवर्तनका लागि मात्र आफुहरु पछाडि हटेको दाबी गरेको छ ।
विगत ६० वर्ष यता कै चर्को खडेरीको समस्यासंग जुधिरहेको सोमालियामा अल शबाबले आफ्नो नियन्त्रणको दक्षिणी क्षेत्रमा खाद्य सामग्री वितरणमा प्रतिबन्ध लगाउदै आएको छ ।
मोगादिशुमा अफ्रिकी युनियनका शान्ति सेना र सरकारी सेनाको केही क्षेत्र मात्र आफ्नो नियन्त्रणमा रहेको छ । संयुक्त राष्ट्रसंघद्धारा अनिकालग्रस्त क्षेत्र घोषित सोमालियामा अहिले लाखौ मानिस भोकमरीको चपेटामा परेका छन् ।