– नम्रता गुरागाईं, नर्थ क्यारोलिना
खोज्दै जांदा म आफूलाइ त्यहां पाउछु
जहां मेरो आफनो पन भेटिन्छ
जहां मेरो आफनो मन देखिन्छ ।
पल्टाउदै जांदा मेरो विगत
म जन्मेर ओर्लिएको आगन
खेतमा रुपान्तरित भएछ
मैले बामे सर्दै
सकि नसकि समाएर उठेको आंपको बोट
अझै फल बांडेर
बटुवाको जिब्रोमा फटकारिदोरहेछ
आउंदा जांदा उसलाइ सुम्सुम्याउंदा
म आफ्नै बाल्यकालमा हराउने गर्छु ।
घर नभएपनि
घर अगाडी र पछाडीका खेतमा
अन्नका बोटहरु
उस्तै हावामा वयेली खेल्दै सबैलाइ अघाउंदारहेछन
घरछेउको सांगुरो डगरले ठुलो बाटो हालेछ
जहांबाट म हजुरबाको दौराको फेर समातेर गोठालो जान्थे
खेतको विचको आलीले ठूलो सांध हालेछ
जहांबाट म आमाको सारीको छेउ समातेर पंधेरो जान्थे ।
खोज्दै जांदा म आफूलाइ त्यहां पाउंछु
जहां बुढा कदमका बोटहरु फांडिएर
मान्छेका कदमहरु बढेछन ।
खेतमा घरका खांबाहरु गाडिन थालेपछी
मुल बाटो छेउको सानो वांसको झांग
त्यसलाइ पानी खुवाउदै बगेको सानो खोल्सो
खोल्सोमाथि लमतन्न सुतेको काठको पुल मकिएपछी
खोल्साले विकासे पुल हालेछ
जहां मैले लरबरिदै पुल तर्न सिकेथें ।
खोज्दै जांदा म आफूलाइ त्यहां पाउछु
जहां अझै
मैले टेकेका आलीहरु मासका बोटहरुले भरिएका छन
मैले लडिबडी खेलेका कान्लाहरु घुसका बोटहरुले भरिएका छन ।