बेलायतमा हालै भएको दंगा र लुटपाटमा संलग्न रहेको अरोपमा प्रहरीले थप १५ सय जनालाई पक्राउ गरेको छ । यसअघि पक्राउ परेका एक हजार जनाको विषयमा छानविन भईरहेको र दोषी पाइनेहरुलाई कडा भन्दा कडा सजाय गर्ने चेतावनी सरकारले दिएको छ । दोष प्रमाणित भएका केहीलाई अदालतले सजायँ समेत तोकिसकेको छ ।
यसैबीच दंगाको क्रममा आगो निभाउने प्रयास गरेका ६८ बर्षीय एक बृद्धको दंगाकारीहरुको कुटाइबाट निधन भएको छ । योसंगै बेलायतमा भड्केको दंगाबाट ज्यान गुमाउनेहरुको संख्या पाँच पुगेको छ ।
उत्तरी लण्डनको टोटनह्याममा प्रहरीले चलाएको गोली लागी एक जना २९ वर्षिय युवकको ज्यान गएपछि शुरु भएको प्रदर्शन दंगामा परिणत भएको थियो जसबाट करोडौं डलर बराबरको क्षति भएको छ ।
दंगा देशैभर फैलने खतरा बढेपछि सरकारले भारी मात्रामा प्रहरी परिचालन गरेको छ भने आवश्यक परे सेनाको सहयोग समेत लिने जनाएको छ ।