बेलायतको लण्डन लगायतका सहरहरुमा भड्किएको हिंसा र लुटपाट नियन्त्रणका लागि प्रहरी प्रशासन कठोर बन्न थालेको छ । हिंसा र लुटपाटमा संलग्न १ हजार ६ सय जनालाई पक्राउ गरि झण्डै ८ सय जना विरुद्ध अदालतमा मुद्दा समेत दायर गरिएको छ ।
लण्डनका सडकहरुमा १६ हजार प्रहरी तैनाथ गरि शान्ति सुरक्षा कायम गर्ने प्रयास भएको छ । हिंसा र लुटपाट नियन्त्रणका लागि प्रहरीले प्रभावकारी भूमिका नखेलेको आरोप लागेपछि प्रहरीले आफ्नो भूमिकालाई पुर्नव्यवस्थित गरेको बताइएको छ । प्रहरीका अनुसार हिंसा र लुटपाटमा संलग्न अधिकांश यूवाहरु १८ वर्ष मुनिका छन् । इन्टरनेट संजाल मार्फत चलाइएको अभियानमा एक लाख भन्दा बढी बेलायती जनताले हिंसा र लुटपाटमा संलग्न भएकाहरुमाथि कडा कारवाही हुनु पर्ने माग गरेका छन् ।
हिंसामा संलग्न भएकाहरुले भविष्यमा सरकारको तर्फबाट प्रदान गरिने भत्ता र सामाजिक सुविधाहरु कटौतीको सामना गर्नु पर्ने आंकलन गरिएको छ ।