ऋण संकटबाट जुधिरहेको यूरोपेली मुलुक इटलीमा ६४ अरब अमेरिकी डलर बराबरको खर्च कटौतिको घोषणा गरिएको छ । मन्त्रीपरिषद्को आपतकालीन बैठकको यो निर्णयसंगै निकट भविष्य मै इटलीमा ५० हजार भन्दा बढी कर्मचारी सरकारी जागिरबाट हट्ने सम्भावना बढेको छ ।
यसका अतिरिक्त डेढ लाख युरो भन्दा बढी आम्दानी हुनेलाई आगामी दुई वर्ष सम्म १० प्रतिशतको अतिरिक्त सोलिडारेटी कर लगाइएको छ । यो योजनाको उद्धेश्य सन् २०१३ को बजेटमा सन्तुलन ल्याउनु रहेको बताइएको छ । मन्त्रीपरिषद्को निर्णय अनुसार सन् २०१२ मा २० अरब डलर र सन् २०१३ मा २५ अरब डलर खर्च कटौति हुनेछ ।
प्रधानमन्त्री सिल्भियो बर्लुस्कानीले खर्च कटौति दुखद भएपनि आवश्यक भएको बताउनुभएको । यूरोपेली केन्द्रीय बैंकको दबाबका कारण इटलीले यो कदम उठाएको बताइएको छ । इटलीको संसदले यो निर्णय ६० दिन भित्र अनुमोदन गर्नु पर्नेछ ।