भानुभक्त निरौला
सोलुखुम्बु – सोलुखुम्बुमा अबिरल वर्षासँगै गएको पहिरोले घर बगाउँदा चौरिखर्क-६ का दुई परिवारका ६ जनाको मृत्यु भएको छ। घर माथिबाट पहिरोसँगै आएको ठूलो ढिस्कोले स्थानीय तेन्जिङ शेर्पा र कुमार तामाङको घर बगाएको थियो। ढिस्कोले पुरिँदा ५ जना घटना स्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो।
राति साढे ९ बजेतिर गएको पहिरोमा पुरिएर मृत्यु हुनेमा काँगेल-३ का एकाबहादुर बस्नेतकी २५ वर्षीय श्रीमति हीराकुमारी बस्नेत, साली ११ वर्षीय मञ्जु बस्नेत र ३ महिनाकी छोरीको मृत्यु भएको हो। त्यस्तै कुमार तामाङकी ६ वर्षीया छोरी छिरिङ तामाङ र १० वर्षीया छोरी मिङमा तामाङको पनि घटना स्थलमै मृत्यु भएको छ।
उता प्रहरीले सकुसल उद्धार गरेर लुक्लास्थित निकोल्निकी अपस्तालमा उपचाररत कुमार तामाङकी श्रीमति कुमारी तामाङङको पनि आज अपरान्ह मृत्यु भएको छ। लुक्ला अस्पतालले उपचार गर्न नसकेर काठमाडौं रिफर गरीएकी तामाङलाई काठमाडौं लान नसकिएपछि मृत्यु भएको अस्पतालले जनाएको छ। खराब मौसमका कारण काठमाडौंबाट जहाँज आउन नसकेपछि टाउकोमा गम्भीर चोट लागेकी तामाङको मृत्यू भएको प्रहरीले जनाएको छ।
घटनामा मृत्यु भएका दुवै परिवार चौरिखर्ककमा काठसम्बन्धी काम गर्दै आएका थिए। आफ्नो घरमा लगातारको वर्षापछि पानी चुहिएपछि बास बस्न नसकेर कुमार तामाङको परिवार पनि छिमेकी एकाबहादुर बस्नेतको घरमा हिजो मात्रै बास बस्न गएका थिए। रातको समयमा खानपिन गरी सुतिसकेपछि पहिरो गएकाले थाहै नपाई पाँचै जनाको एकै चिहान भएको स्थानीयले बताए। घटनाको जानकारी पाएपछि आज बिहान पुगेको प्रहरी र स्थानीयसहितको उद्धार टोलीले मृत शव र घाइतेको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक प्यारालेल लामाले जानकारी दिए।
पहिरलो पुरिएर त्यहाँका थप चार जनाको घरमा पूर्णरुपमा क्षति भएको छ भने दुई जनाको घरमा आंशिक क्षति पुगेको छ। स्थानीय हर्कपूजन राई, मणिकुमार राई, पासाङ शेर्पा र भक्तिमाया तामाङको घर पहिरोले बगाएको छ भने ती घरमा मानवीय क्षति भने हुन सकेन। उक्त घटनामा डेढ करोडभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ। घटना स्थल विकट हिमाली क्षेत्रमा भएकाले उद्धार गर्न कठिनाई भएको थियो। सदरमुकाम सल्लेरीबाट करिब १९ कोष उत्तरी क्षेत्रमा पर्ने सो ठाउँमा उद्धारको क्रम अहिले जारी छ।