भारतले ६५औं स्वतन्त्रता दिवसको अवसरमा नेपालका १७ जिल्लालाई २० वटा एम्बुलेन्स प्रदान


 

काठमाडौ  –  नेपालका १७ जिल्लाहरुका विभिन्न अस्पताल र संघ संस्थाहरुलाई भारतले आफ्नो ६५औं स्वतन्त्रता दिवसको अवसरमा २० वटा एम्बुलेन्स प्रदान गरेको छ । त्यस्तै विभिन्न विद्यालयलाई ४ वटा स्कुल बस प्रदान गरेको छ ।

भारतको स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंस्थित राजदूतावास परिसरमा आयोजित कार्यक्रममा  कार्यवाहक राजदूत श्री जयदीप मजुम्दारले राष्ट्रिय झण्डा फहराई १४ अगष्टमा राष्ट्रका नाममा भारतका राष्ट्रपतिले दिनुभएको सन्देश पढेर सुनाएका थिए । कार्यवाहक राजदूतले विभिन्न संस्थाहरुलाई १५ वटा एम्बुलेन्सहरु र ३ बसहरु उपहार स्वरुप प्रदान गरे । बााकी ५ एम्बुलेन्सहरु वीरगञ्ज स्थित भारतीय महावाणिज्यदूत श्री आशुतोष अग्रवालले त्यस क्षेत्र अन्तर्गत पर्ने संस्थाहरुलाई उपहार स्वरुप प्रदान गरेका छन् । समारोहमा कार्यवाहक राजदूतले नेपालका केही दुर्गम जिल्लाहरु लगायत विभिन्न स्थानमा रहेका ५० शैक्षिक तथा तालिम संस्थानहरुलाई पुस्तकहरु समेत उपहार स्वरुप प्रदान गरे । 

भारतले सन् १९९४ देखि नेपालको ७० जिल्लाहरुमा अवस्थित विभिन्न संस्थाहरुलाई ३२२ वटा एम्बुलेन्सहरु प्रदान गरिसकेको छ । त्यस्तै, भारतले पटक पटक गरी ६२ वटा बसहरु उपहार स्वरुप प्रदान गरेको छ ।

भारत र नेपाल सरकारबीच कूल ६२ सय करोड भन्दाबढी लगानीमा वृहत भारत-नेपाल आर्थिक सहयोग कार्यक्रम अन्तर्गत यी एम्बुलेन्स तथा बसहरु उपहार स्वरुप प्रदान गरिन्छ । उक्त कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य तथा पूर्वाधार निर्माणका लागि ठूला तथा साना ४ सय १० भन्दा धेरै परियोजनाहरु रहेका छन् ।