सिरियाको बन्दरगाह शहर लाताकियामा नौसेना परिचालन गरी प्रदर्शनकारीमाथि आक्रमण शुरु गरेपछि हजारौ प्यालेष्टाइनी शरणार्थी पलायन

सिरियाको बन्दरगाह शहर लाताकियामा नौसेना परिचालन गरी प्रदर्शनकारीमाथि आक्रमण शुरु गरेपछि त्यहां रहेका हजारौ प्यालेष्टाइनी शरणार्थी शिविर छाड्न बाध्य भएका छन् ।

 

संयुक्त राष्ट्रसंघका अनुसार ५ देखी १० हजार शरणार्थी युद्धको चपेटामा परिने डरले लाताकियाबाट पलायन भैरहेका छन् । उनीहरुलाई सुरक्षित मार्गको आवश्यकता भएको जनाएको छ । राष्ट्रसंघिय सहयोग निकायले चार जनाको मृत्यु भएको जनाएको छ ।

 

प्यालेष्टाइनी अधिकारीहरुले सिरिया सरकारसंग प्यालेष्टाइनी शरणार्थीको जीवन रक्षाको लागि आग्रह गरेको छ । यता लाताकिया शहरमा सिरियाली सेनाको तिन दिने सैन्य अपरेशनका क्रममा ३० भन्दा बढी मानिस मारिएका छन् । यसैबीच सिरियासंग नजिकको सम्बन्ध रहदै आएको टर्कीले प्रदर्शनकारीमाथि तत्काल र विना शर्त दमन रोक्न फेरि पनि आग्रह गरेको छ ।

 

सिरियामा राष्ट्रपति बशार अल असादको सत्ता विरुद्ध गत मार्च यता भैरहेको प्रदर्शनमा १७ सय भन्दा बढि मारिएको मानव अधिकारवादी संगठनहरुले जनाएका छन् ।