लिवियामा कर्णेल गद्धाफी्प्रति बफादार सेना र विद्रोहीबीच भिषण संघर्ष


 

लिवियामा कर्णेल गद्धाफी्प्रति बफादार सेना र विद्रोहीबीच भिषण संघर्ष भएको छ । संघर्षका क्रममा विद्रोहीले रणनीतिक हिसाबले महत्वपूर्ण मानिएको राजधानी नजिकका दुई प्रमुख शहर कब्जा गरेको दाबी गरेका छन् ।

 

विद्रोहीले ट्रिपोली देखी ३० किलोमिटरको दूरीमा रहेको जाविया र १ सय ६० किलोमिटर पूर्वमा रहेको जिल्तान शहर आफुहरुले नियन्त्रणमा लिएको बताएका छन् । शहर नियन्त्रणका क्रममा आफ्ना ३१ जना सेना मारिएको र १ सय २० भन्दा बढी घाइते भएको विद्रोहीले जनाएका छन् । तर लिवियाली सरकारले भने विद्रोहीको दाबी अस्वीकार गर्दै दुवै शहर सेनाको नियन्त्रणमा रहेको जिकिर गरेको छ ।

 

जावियामा विद्रोहीको नियन्त्रण पछि ट्रिपोलीको सम्पर्क ट्युनिसियासंग पूरै टुट्ने र यसले गद्धाफीका सेनालाई इन्धन आपूर्तिमा ठूलो समस्या पैदा गर्ने बताइएको छ । विद्रोहीले विहिबार मात्रै पनि एक तेल प्रशोधन संयन्त्र आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका थिए । उता ट्रिपोलीमा रहेका विदेशी सहायता एजेन्सीहरुलाई त्यहांबाट हटाउने क्रम तीव्र पारिएको छ । लिवियामा विद्रोहीले ४२ वर्षदेखि शासन गरिरहेका कर्णेल गद्धाफीले सत्ता त्याग्नु पर्ने भन्दै संघर्ष गरिरहेका हुन् ।

 

तर नेटोको हवाई आक्रमण, विद्रोहीसंगको कडा संघर्ष र चर्को अन्तर्राष्ट्रिय दबाबका बाबजुद गद्धाफीले सत्ता छाड्ने कुनै संकेत दिएका छैनन् ।