सिरियामा शुक्रबारे प्रार्थना सभापछि सरकार विरोधी प्रदर्शनमा उत्रिएकाहरुमाथि सेनाले गरेको कारवाहीका क्रममा ४० भन्दा बढी प्रदर्शनकारी मारिएका छन् । मारिनेमा धेरै जसो दक्षिणी डेराअ प्रान्तको विभिन्न शहरमा भएको प्रदर्शनमा सहभागिहरु रहेको बताइएको छ ।
होम शहरमा पनि रातभर गोली र विष्फोटका आवाज सुनिएको र केही प्रदर्शनकारी मारिएको अधिकारकर्मीहरुले बताएका छन् । सिरियाका अरु शहरहरुमा पनि सरकार विरोधी प्रदर्शन व्यापक भएको बताइएको छ । यसैबीच सिरियाका राष्ट्रपति बशार अल असाद विरुद्ध अन्तर्राष्ट्रिय समुदायको दबाब बढिरहेका बेला अमेरिकाले असादलाई तत्काल सत्ता छोड्न पुन आग्रह गरेको छ । तर रुसले भने राष्ट्रपति असादलाई प्रजातान्त्रिक सुधारका लागि समय दिनु पर्ने जनाएको छ ।
यसैबीच यूरोपियन युनियनले सिरियाको तेल क्षेत्रलाई लक्षित गर्दै नाकाबन्दी बढाउने तयारी गरिरहेको छ । सिरियामा गत मार्च यता राष्ट्रपति असादको शासन विरुद्ध भइरहेको प्रदर्शनका क्रममा २ हजार भन्दा बढीको मृत्यु भइसकेको मानवअधिकारकर्मीहरुले दाबी गरेका छन् ।