संखुवासभाका पत्रकारलाई आक्रमण गर्ने आरोपीलाई बरको रुखमुनी सुतिरहेको अवश्थामा पक्राउ


 

– दीपेन्द्र शाक्य

 

खाँदबारी – प्रहरीले संखुवासभाका पत्रकार किशोर बुढाथोकीलाई आक्रमण गर्ने रुपक राईलाई पक्राउ गरेको छ । जिल्लाको याफु गाविस ३ मुलगाँउमा सुतिरहेको अवश्थामा प्रहरीले राईलाई शनिबार बिहान पक्राउ गरेको हो ।

गाँउका सबै घरमा सर्च गर्दा नभेटेपछि याफु प्रहरी चौकीले राईलाई बरको रुखमुनी फेला पारेको संखुवासभाका निमित्त प्रहरी प्रमुख महेन्द्रराज कार्कीले बताए । उनको साथबाट प्रहरीले खुकुरी र लाठी बरामद गरेको छ । सदरमुकाम खाँदबारीवाट याफु पुग्न २ दिन लाग्छ । उनलाई जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी गरेको प्रहरीले जनाएको छ । आक्रमणमा संलग्न मुख्य योजनाकार विकास राई भने अझै फरार छन् ।

खाँदबारी १ स्थित आफ्नै कोठामा सुतिरहेको अवश्थामा ११ दिन अघि केही काम छ भन्दै खाँदबारी १० का विकास राई र उनका साथी रुपक राईले अन्नपुर्ण पोस्टका पत्रकार बुढाथोकीलाई एकान्तमा लगेर खुकुरी हानेका थिए । घाइते पत्रकारको जिल्ला अस्पताल खाँदबारीमा उपचार हुन नसके पछि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।