लिवियामा ६ महिनादेखि कर्णेल गद्धाफीको सरकारविरुद्ध संघर्षरत विद्रोहीहरुले गद्धाफीको निवास कब्जा गर्ने प्रयास जारी राखेका छन् ।
राजधानी ट्रिपोलीको अधिकांश भूभाग कब्जा गरिसकेका विद्राहीले गद्धाफी निवास प्रवेश गर्न प्रयास गरिरहेको र अहिले गद्धाफी निवास बाब अल अजिजमा भीषण संघर्ष भइरहेको अन्र्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
विद्रोहीहरुले गद्धाफीका छोरा सैफ अल ईस्लाम गद्धाफी र मोहम्मद गद्धाफीलाई पनि नियन्त्रणमा लिएका छन् । कर्णेल गद्धाफी कहां छन् भन्ने बारे भने खुल्न सकेको छैन । तर उनी बाब अल अजिजमै रहेको हुन सक्ने अनुमान गरिएको छ ।
गएराति यता ट्रिपोलीमा विद्रोही र सरकारी सेनावीच भएको भीडन्तमा १३ सय भन्दा बढी मानिस मारिएको र ५ हजार भन्दा बढी घाइते भएको बताईएको छ । रातभरको संघर्षपछि विद्रोहीले मध्य ट्रिपोलीमा झण्डा फहराउंदै विजय उत्सव मनाएका थिए । तर गद्धाफीले भने अन्तिम अवस्थासम्म पनि सत्ता त्याग नगर्ने अडान लिएका छन् । लिवियाली सरकारका प्रवक्ता मौसा इब्राहिमले गद्धाफी समर्थित ६५ हजार सेना सरकारको नियन्त्रणमा रहेको दाबी गरे पनि उनीहरुको भूमिकाका विषयमा भने विभिन्न अड्कलबाजी भइरहेका छन् । विद्रोहीका अनुसार धेरै सरकारी सेनाले आत्मसमर्पण गरिसकेका छन् ।
यसैबीच, अन्र्तराष्ट्रिय समुदायले थप रक्तपात हुन नदिन तत्काल सत्ता त्याग्न गद्धाफीमाथि दबाब बढाएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले गद्धाफीको सत्ता विरुद्धको संघर्ष निर्णायक विन्दुमा पुगेको उल्लेख गर्नुभएको छ भने बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले पनि गद्धाफीको पतनको समय आईसकेको टिप्पणी गर्नुभएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतले गद्धाफी ,उनका छोरा र लिवियाका गुप्तचर प्रमुख अब्दूल्लाह अल सानुसीविरुद्ध मानवता विरुद्धको अपराधमा पक्राउ पुर्जी जारी गरेको जनाएको छ ।
यूरोपियन युनियनले गद्धाफीको शासन अन्त्यको समय आइसकेको भन्दै लिवियाली जनताको सुरक्षा र त्यहांको अन्तरिम प्रशासन सञ्चालनको तयारी अगाडि बढाइसकेको जनाएको छ ।
सन् १९६९ मा रक्तपातविहीन कु मार्फत सत्ता कब्जा गरी विगत ४२ वर्षदेखि शासन गरिरहेका गद्धाफीविरुद्धको संघर्षमा नेटोले पनि विद्रोहीलाई साथ दिएपछि गद्धाफीको लिवियामाथिको नियन्त्रण क्रमश कमजोर बन्दै गएको थियो ।