सिरियाका राष्ट्रपति असादद्दारा महिनौ लामो सरकार विरोधी प्रदर्शनका बाबजुद आफ्नो सरकार ढल्ने खतरा नरहेको दाबी

सिरियाका राष्ट्रपति बशार अल असादले महिनौ लामो सरकार विरोधी प्रदर्शनका बाबजुद आफ्नो सरकार ढल्ने खतरा नरहेको बताउनु भएको छ ।

 

सरकारी टेलिभिजनसंगको अन्तर्वातामा राष्ट्रपति असादले सिरियाको समस्या राजनीतिक रुपमा समाधान गर्नुपर्ने भएपनि हिंसा नियन्त्रणमा सुरक्षाकर्मीको भूमिका आवश्यक भएकोमा जोड दिनुभयो । उहांले देशमा बहुदलीय व्यवस्था लागु गर्ने र आगामी फेब्रुअरीमा आमनिर्वाचन हुने सम्भावना पनि व्यक्त गर्नुंभयो ।

 

अन्तर्वाताका क्रममा राष्ट्रपति असादले सिरियाको भू राजनीति अवस्था र क्षमताका कारण अन्तर्राष्ट्रिय शक्तिले कारवाही गर्नै नसक्ने दाबी गर्नुभयो । यसैबीच संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्ले सिरियामा २५ सय भन्दा बढीको मृत्यु हुने गरी भएको आन्दोलनको विषयमा जेनेभामा छलफल गर्दैछ ।

 

परिषद्ले सिरियामा भैरहेको दमनविरुद्ध खेद प्रस्ताव पारित गर्ने सम्भावना रहेको बताइएको छ । यसैबीच मावनीय सहायताका लागि राष्ट्रसंघको टोली सिरिया पुगेको छ ।