गद्धाफीका छोरा सैफ अल ईस्लाम राजधानी ट्रिपोलीमा आफ्ना समर्थक विच देखा परेका छन। उनले विद्रोही विरोद्द आफ्नो लडाईं जारी राख्ने बताए।
यस अघि विद्रोहीले उनी लगायत अन्य २ भाईलाई कब्जामा लिएको बताएका थिए। तर बिद्रोहीको कब्जाबाट उम्कन सफल भएका बताइएको छ ।
यसैबीच यस अघि लिवियामा ६ महिनादेखि कर्णेल गद्धाफीको सरकारविरुद्ध संघर्षरत विद्रोहीहरुले गद्धाफीको निवास कब्जा गर्ने प्रयास जारी राखेका छन् बताइए पनि अहिले पछील्लो अवस्थाको बारेमा केही थाहा हुन सकेको छैन।
राजधानी ट्रिपोलीको अधिकांश भूभाग कब्जा गरिसकेका विद्राहीले गद्धाफी निवास प्रवेश गर्न प्रयास गरिरहेको र अहिले गद्धाफी निवास बाब अल अजिजमा भीषण संघर्ष भइरहेको अन्र्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका थिए।
कर्णेल गद्धाफी कहां छन् भन्ने बारे भने खुल्न सकेको छैन । तर उनी बाब अल अजिजमै रहेको हुन सक्ने अनुमान गरिएको छ । गएराति यता ट्रिपोलीमा विद्रोही र सरकारी सेनावीच भएको भीडन्तमा १३ सय भन्दा बढी मानिस मारिएको र ५ हजार भन्दा बढी घाइते भएको बताईएको छ ।
यस अघि विद्रोहीले मध्य ट्रिपोलीमा झण्डा फहराउंदै विजय उत्सव मनाएका थिए । तर गद्धाफीले भने अन्तिम अवस्थासम्म पनि सत्ता त्याग नगर्ने अडान लिएका छन् । लिवियाली सरकारका प्रवक्ता मौसा इब्राहिमले गद्धाफी समर्थित ६५ हजार सेना सरकारको नियन्त्रणमा रहेको दाबी गरे पनि उनीहरुको भूमिकाका विषयमा भने विभिन्न अड्कलबाजी भइरहेका छन् । विद्रोहीका अनुसार धेरै सरकारी सेनाले आत्मसमर्पण गरिसकेका छन् ।
यसैबीच, अन्र्तराष्ट्रिय समुदायले थप रक्तपात हुन नदिन तत्काल सत्ता त्याग्न गद्धाफीमाथि दबाब बढाएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले गद्धाफीको सत्ता विरुद्धको संघर्ष निर्णायक विन्दुमा पुगेको उल्लेख गर्नुभएको छ भने बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले पनि गद्धाफीको पतनको समय आईसकेको टिप्पणी गर्नुभएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतले गद्धाफी ,उनका छोरा र लिवियाका गुप्तचर प्रमुख अब्दूल्लाह अल सानुसीविरुद्ध मानवता विरुद्धको अपराधमा पक्राउ पुर्जी जारी गरेको जनाएको छ ।
यूरोपियन युनियनले गद्धाफीको शासन अन्त्यको समय आइसकेको भन्दै लिवियाली जनताको सुरक्षा र त्यहांको अन्तरिम प्रशासन सञ्चालनको तयारी अगाडि बढाइसकेको जनाएको छ । सन् १९६९ मा रक्तपातविहीन कु मार्फत सत्ता कब्जा गरी विगत ४२ वर्षदेखि शासन गरिरहेका गद्धाफीविरुद्धको संघर्षमा नेटोले पनि विद्रोहीलाई साथ दिएपछि गद्धाफीको लिवियामाथिको नियन्त्रण क्रमश कमजोर बन्दै गएको थियो ।