भारतको मद्रास उच्च न्यायालयले पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्यामा दोषी प्रमाणित तीन जनालाई मृत्यु दण्डको सजाय विरुद्ध अन्तरिम रोक लगाएको छ । हत्यामा दोषी प्रमाणित मुरुगन, संथन र पेरारीवालनलाई सेप्टेम्बर नौ मा मृत्युदण्ड दिने निर्णय भएको थियो । तमिलनाडु विधानसभाले पनि सर्वसम्मतिबाट प्रस्ताव पारित गरि राष्ट्रपति समक्ष उनीहरुलाई क्षमा दानको अपिल गर्ने निर्णय गरेको छ ।
तर यसअघि भारतीय राष्ट्रपति प्रतिभा पाटिलले मृत्युदण्डको फैसलाविरुद्धको दया याचिका खारेज गरेपछि उनीहरुको मृत्युदण्डको समय निश्चित भएको थियो । सन् १९९१ को मे २१ मा तमिलनाडुको श्रीपेरबदुरमा आयोजित चुनावी र्यालीका क्रममा गराइएको आत्मघाती आक्रमणमा राजीव गान्धी मारिएका थिए । राजीव गान्धीको हत्या श्रीलंकाको विद्रोही समुह लिवरेशन टाइगर्स अफ तमिल इलम एलटीटीईको आत्मघाती आक्रमणमा भएको थियो ।
सन् २००६ मा एलटीटीईले राजीव गान्धीका हत्या प्रति दुख व्यक्त गरेको थियो । भारतको सर्वोच्च अदालतले आरोपी तीन जनाविरुद्ध तल्ला अदालतलहरुले दिएको मृत्युदण्डको फैसलालाई सही ठहराएको थियो ।