लिबियाली नेता कर्णेल गद्दाफीले बिद्रोहीहरु सामू आत्मसर्मपण नगर्ने अडान ब्यक्त गरेका छन् । अज्ञात स्थलबाट आफू समर्थित टेलिभिजन च्यानल मार्फत सन्देश दिदै गद्दाफीले जीत आफनै हुने दाबी दोहोर्याउँदै लिबियाली नागरिकहरु बिद्रोही सामू नझुक्ने बताएका छन् ।
बिद्राहीहरुले गद्दाफी समर्थकहरुलाई आत्मसमर्पणका लागि गरेको आब्हानको कटाक्ष गर्दै गद्दाफीले आफना समर्थकहरु महिला होइनन् जो बिद्रोही समक्ष आत्मसमपर्ण गरोस् भनेका छन् । १० मिनेट लामो सन्देशमा गद्दाफीले नेटो गठबन्धन सेनाको पतनको समय आएको दावी समेत गरेका छन् । सन्देशमा गद्दाफीले बिद्रोहीहरु त्रिपोली कब्जा गरेको स्वीकार्दै शिर्त शहर लिबियाको नयाँ राजधानी भएको घोषणा गरेका छन् । यसैबीच फ्रान्सको राजधानी पेरिसमा लिबियाको स्थितिबारे जारी सम्मेलनमा पश्चिमा मुलुकहरुले गद्दाफी समर्थक सरकारी अधिकारीहरुलाई बिद्रोहीहरुको साथ दिन आग्रह गरेका छन् भने गद्दाफीको शासनकालमा रोक्का गरिएको सम्पती फुकुवा गर्न सहमत भएका छन् ।
फ्रान्सका राष्ट्रपति निकोलस सार्कोजी र बेलायती प्रधानमन्त्री डेविड क्यामरुनको संयोजकतत्वमा ६३ देशका प्रतिनिधीहरु पेरिसमा भेला भएका छन् ।