भारतको राजधानी नयाँ दिल्ली स्थित उच्च न्यायालय अगाडि बम विष्फोट


नयाँ दिल्ली – भारतको नयाँ दिल्लीस्थित उच्च अदालत परिसरमा बम बिस्फोट भएको छ ।

 

बिस्फोटमा ११ जनाको घटनास्थलमै मृत्यु भएको समाचार एजेन्सीहरुले जनाएका छन् । गृहमन्त्री पी चिदम्बरम्ले भने घटनामा ९ को मृत्यु भएको र ४७ जना घाइते भएको जानकारी संसदलाई दिएका छन् ।

 

कार्यालय समयमा उच्च अदालतको पाँच नं को गेटमा भएको सुटकेस बम बिस्फोटमा मारिनेमा अदालत प्रवेश गर्न गेट पास बनाइरहेका सेवाग्राही परेका छन् । घाइतेलाई नजिकै रहेका अस्पतालहरुमा लगिएको छ । घाइतेहरुको अवस्था गम्भीर भएको अस्पताल स्रोतले जनाएको छ । घटना आतंककारी भएको जनाउदै भारत सरकारले दिल्ली र मुम्बईमा उच्च सुरक्षा सतर्कता अपनाएको छ । विष्फोटमा कसको संलग्नता रहेको भन्ने खुलेको छैन । दिल्ली उच्च अदालतमा चार महिना अघि पनि विष्फोट भएको थियो । दिल्लीमा यति ठूलो क्षति हुने गरी आतंककारी हमला भने तीन वर्ष पछि भएको हो ।