लिवियामा विद्रोहीबाट लुक्दै भागिरहेका कर्णेल गद्धाफीको खोजी तीव्र, इन्टरपोलद्धारा रेड कर्नर नोटिस जारी

लिवियामा विद्रोहीबाट लुक्दै भागिरहेका कर्णेल गद्धाफीको खोजी तीव्र भैरहेका बेला उनको गढ मानिने बनी वलीद शहर विद्रोहीहरुको नियन्त्रण नजिक पुगेको छ । गद्धाफीको सेनाको नियन्त्रणमा रहेको चार शहर मध्ये बनी वलीद शहर पनि एक हो । शहर प्रवेशका क्रममा विद्रोही सेनाले कडा प्रतिरोधको सामना गर्नु परेको बताइएको छ । संघर्षका क्रममा चार जनाको मृत्यु भएको र केही घाइते भएको जनाइएको छन् ।

 

गद्धाफीका सेनालाई शनिवार सम्म हतियार बुझाउन दिएको समयसीमा सकिए लगतै वलीद शहर विद्रोहीको निशानामा परेको हो । उता गद्धाफीको गृहनगर सिर्तमा पनि भीषण संघर्ष भैरहेको छ ।

 

यसैबीच इन्टरपोलले गद्धाफी, उनका छोरा सेफ अल इस्लाम र पूर्व लिवियाली गुप्तचर निर्देशक अब्दुल्ल अल सेनुसी विरुद्ध रेड कर्नर नोटिस जारी गरेको छ ।

 

उता संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले लिवियामा चुनावको व्यवस्था, न्यायिक प्रणाली र प्रहरी संगठनलाई प्रभावकारी रुपमा विकास गर्न लिवियामा नयां मिसन स्थापनाका लागि सुरक्षा परिषद्लाई आग्रह गर्नुभएको छ ।