आइतबार साँझ ताप्लेजुङ जिल्ला र भारतको सिक्किम राज्यको सिमानाबीचमा केन्द्रविन्दु भइआएको ६.८ रेक्टर स्केलको भूकम्पबाट नेपालको पूर्वाञ्चल, मध्यमाञ्चल तथा पश्चिमाञ्चलका २२ जिल्ला प्रभावित भएका छन्। विभिन्न जिल्लाबाट हालसम्म प्राप्त विवरण अनुसार छ व्यक्तिको घटनामा परी मृत्यु भएको छ। चौबिसजना गम्भीर घाइते भई उपचारका क्रममा रहेका छन् भने ७७ जना सामान्य घाइते उपचारपछि घर फर्किसकेका छन्। हालसम्म १६८ घर पूर्णरुपमा क्षति र १४६ घर आंशिक क्षति भएको छ। पछिल्लो विवरण सङ्कलन गर्ने क्रम जारी रहेको बताइएको छ।
सो भूकम्पबाट भएको जनधनको क्षति न्यून गरी पीडितको उद्धार तथा राहतलाई प्रभावकारीरुपमा अगाडि बढाउन घटनाको सूचना प्राप्त हुनासाथ राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रमा गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा गृहअन्तर्गतका सुरक्षा निकायका प्रतिनिधिसम्मिलित कमान्डपोस्ट खडा गरी उद्धार तथा राहतको समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।
उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउन र पीडितलाई यथोचित राहत उपलब्ध गराउन सरकारले आवश्यक कार्य गरिरहेको जनाइएको छ ।
प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका उपप्रधानमन्त्री विजयकुमार गच्छदारको अध्यक्षतामा बसेको केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकले भूकम्पमा परी मृत्यु भएका व्यक्तिको परिवारलाई तत्कालीन राहतस्वरुप प्रतिमृतक परिवार रु२५ हजारका दरले घरमै राहत रकम उपलब्ध गराउन सबै जिल्ला दैवी प्रकोप उद्धार समितिलाई निर्देशन दिएको छ।
प्रधानमन्त्रीको निर्देशनअनुसार मृतकका परिवारलाई प्रति रु एक लाखका दरले थप आर्थिक सहायता उपलब्ध गराउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सिफारिससाथ अनुरोध गर्ने निर्णय बैठकले गरेको छ।
घटनामा परी गम्भीर घाइते भएकालाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने, क्षति भएका सार्वजनिक तथा व्यक्तिगत सम्पतिको यथार्थ विवरण सङ्कलन गर्न तत्काल कार्यटोली गठन गरी क्षतिको विवरण लिने र व्यक्तिगत सम्पत्तिको हकमा विद्यमान राहत मापदण्डबमोजिम घटनास्थलमै गई तीनदिनभित्र राहत रकम वितरणको व्यवस्था मिलाउने निर्णय भएको छ।
सार्वजनिक सम्पत्तिको हकमा क्षतिको यथार्थ मूल्याङ्कन गरी गृह मन्त्रालयमा पठाउन जिल्ला दैवी प्रकोप उद्धार समितिलाई निर्देशन दिने, उद्धार, राहत तथा क्षतिको यथार्थ मूल्याङ्कनको विवरण जिल्ला दैवी प्रकोप उद्धार समितिले राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रमा तीनदिनभित्र उपलब्ध गराउने, भूकम्प प्रभावित जिल्लाको मागका आधारमा उद्धार तथा राहतका लागि आवश्यक रकम केन्द्रीय दैवी प्रकोप उद्धार कोषबाट जिल्ला दैवी प्रकोप उद्धार कोषमा तत्कालै निकासा दिने निर्णय गरिएको छ।
मन्त्रालयले भूकम्पबाट निधन भएकाप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभका कामना गरेको छ। रासस
आइतबार साँझ नेपालमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको ९ पुगेको छ । भूकम्पका कारण भारतमा ३५ र तिब्बतमा ७ जनाको मृत्यु भएको छ ।
भूकम्पका कारण भक्तपुर, झापा, संखुवासभा र धनुटामा गरी चार तीनजनाको मृत्यु भएको पुष्टि भएको छ । भूकम्पका कारण होस गुमाएकी भक्तपुर गठ्ठाघरकी ६५ वर्षीया बृद्धा लीला पौडेलको गएराति उपचारका क्रममा ज्यान गएको हो । गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचारका क्रममा उनको राति मुत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।
यस्तै घर भत्किएर पुरिँएर संखुवासभाको खाँदाबारी नुम १ का लहबहादुर राईका ५ वर्षीय प्रदिप राईको र धनकुटा फलाँटे-५ की ४० वर्षीया मधु कार्कीको मृत्यु भएको छ । झापाको मेचीनगर १० भानुटोलकी करिव ५/६ वर्षीया आयशा घिमिरेको ज्यान गएको छ । प्यारालाइसिसका बिरामी आयशा भूकम्प आउँदा बेहोस भएको र राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार काठमाडौंको लैनचौरस्थित बेलायती दूतावासको पर्खाल भत्किएर च्यापिँदा गोरखा भुम्लिचोकका ३६ वर्षीय साजन श्रेष्ठ, उनकी छोरी ८ वर्षीया अनिशा र सिन्धुली मरिनका २० वर्षीय वीरबहादुर माझीको मृत्यु भएको थियो । घटनामा घाइते भएका उनीहरुको मनमोहन अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो ।
गृह मन्त्रालयले भने भूकपमा परि ६ जनाको मात्र मृत्यु भएको छ । मन्त्रालयले काठमाडौंमा मृत्यु भएका ३, सुनसरीका २ र संखुवासभामा एक जनाको मृत्यु भएको बताएको छ । भूकम्पका कारण २४ जना गम्भीर र ७७ जना सामान्य घाइते भएका छन् भने १ सय ६८ घरमा पूर्ण रुपमा तथा १ सय ४६ घरमा आशिंक रुपमा क्षति भएको छ । घाइतेमध्ये राजधानीको वीर अस्पतालमा दुईजर्दन, ललितपुरको बी एण्ड बी अस्पतालमा ५, ठमेलस्थित मनमोहन मेमोरियल अस्पतालमा ३, ओम अस्पतालमा २ र पाटन अस्पतालमा १ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कतिपय भने उपपचार गरी घर फर्किएका छन् ।
भूकम्पले भारतको सिक्किमा २३ र भारतका अन्य राज्यमा १२ तथा तिब्बतमा ७ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमहरुले भने सिक्किममा मर्नेहरुको संख्या बढी रहेको बताएका छन् । आइतबार साँझ ६ बजेर २६ मिनेट जाँदा भारतको सिक्किम केन्द्रबिन्दु बनाई ६ दशमलव ९ रिक्टर स्केलको भूकम्प गएको थियो ।