काठमाडौ – पर्व नै दसैं, त्यसमा मासु नहुने कुरै भएन । समुदाय र गच्छेअनुसार खसी, भेडा च्याङ्ग्रा वा राँगाको मासुका परिकार मासु खानेको घरैपिच्छे पाक्छ । पोलेर, उसिनेर, सेकेर, मसला हालेर वा काँचै स्वादअनुसार दसैंमा मासु उपभोग हुन्छ त्यसमा पनि रातो मासु ।
स्वादिलो बनाउने नाममा मसालेदार वा रातो मासुको उपयोग गर्दा स्वास्थ्यको ख्याल गर्न चिकित्सकहरूले सचेत गराएका छन् । रातो मासु युरिक एसिड, ट्राइग्लिसराइड, मुटु रोग भएकाहरूका लागि राम्रो मानिँदैन । ‘कहिलेकाहीँ खानाको पाँचौं हिस्सा रातो मासु हुने गरी खान सकिन्छ,’ नर्भिक इन्टरनेसनल हस्पिटलका मुटु रोग विशेषज्ञ डा.भारत रावत भन्छन्, ‘मुटु रोग सम्बन्धी जोखिम भएकाहरूले अलि पनि समस्या देखिए ‘ग्यास्टि्रक’ लगायतका रोग नठानी तुरुन्त विज्ञसँग परामर्श लिनुपर्छ ।’
नेपाल हर्ट फाउन्डेसनका अध्यक्ष एवं मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार कोलेस्ट्रोलको स्तर बढी भएकाहरूले रातो मासुबाट बच्नुपर्छ । भन्छन्, ‘मासु पोलेर खाँदा स्वादिष्ट भए पनि यसले क्यान्सर उत्पन्न गर्न सक्ने भएकाले यसको निरन्तर सेवन राम्रो मानिँदैन ।’ कलेजो, मस्तिष्क, फोक्सो, मृगौला आदिमा रातो मासुको दाँजोमा पाच गुणा बढी कोलेस्ट्रोल हुने भएकाले बढी सेवन गर्नु नहुने डा.रेग्मी बताउँछन् । यस्तै, रगतलाई जमाएर भुटेर खाने गर्दा नुनको मात्रा बढी हुने भएकाले यसले रक्तचापलाई धेरै बढाउँछ । स्वस्थ खसीको फोक्सोमा पिठो भरेर, तारेर खाए अरूभन्दा कम हानिकारक रहेको डा. रेग्मी बताउँछन् ।
सुँगुर र बंगुरको राम्ररी नपकाइएको मासुबाट फित्ते किरा हुन सक्ने औल्याउँदै न्युरो शल्य चिकित्सक डा. वसन्त पन्त भन्छन्, ‘जहाँ पायो त्यहीँ पकाएको यस्तो मासु नखानु नै राम्रो । खाने इच्छा नै भए आफूले राम्ररी पकाएर मात्र खानुपर्छ ।’
काँचो मासु नखानु राम्रो