हिन्दुहरुको महान चाड बडादसैँको दसौँ दिन आज आफ्ना मान्यजनबाट टिका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ ।
विजयादशमीका दिन आफ्ना मान्यजनबाट टिका ग्रहण गर्दा अरु फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ । आज नौदिनसम्म दसैँघरमा दुर्गाभवानीको पूजा आराधना गरी राखिएको जमरासहितको टिका लगाउने प्रचलन छ ।
असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा आजदेखि नौदिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ ।
पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्णघडाको जलले अभिषेक गरी आआफ्ना मान्यजनबाट नवदुर्गा भवानीको प्रसाद, टिका र जमरा लगाइन्छ । आजका दिन परिवारका आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गाभवानीको टिका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथा दीर्घायुको आशीर्वाद लिने गरिन्छ ।