आयमा भएको असमानताको विरोधमा अमेरिकाबाट सुरु भएको प्रदर्शन विश्वभर

APTOPIX Italy Wall Street Protests

 

आयमा भएको असमानताको विरोधमा अमेरिकाबाट सुरु भएको प्रदर्शन विश्वका विभिन्न शहरमा फैलिएको छ । कर्पोरेट क्षेत्रको मुनाफाखोरी र सरकारी खर्च कटौतीको विरोधमा अमेरिकाको न्युयोर्कमा वाल स्ट्रिट कब्जा गरौं नाम दिएर प्रदर्शन सुरु भएको थियो ।

न्युयोर्कमा हजारौं मानिसले आर्थिक असमानता र ठूलो कर्पोरेट हाउसलाई बढी महत्व दिने नीतिको विरोधमा एक महिनादेखि प्रदर्शन गर्दे आएका छन् । आयोजनहरुले एसिया, अफ्रिका अमेरिका र युरोपका गरी ८२ देशको ९ सय ५१ सहरमा यस्तै पद्रर्शन भएको बताएका छन् । प्रदर्शनमा हजारौं मानिस सहभागी भएका छन् । इटलीको राजधानीमा प्रदर्शनमा उत्रिएकाहरु र दंगा प्रहरीबीच झडप हुंदा ७० भन्दा बढी घाइते भएका छन् ।


अक्टोबर १५ को विश्वव्यापी प्रदर्शन आह्वान गर्नेहरुले आफ्नो वेबसाइटमा प्रदर्शनको उद्देश्य चाहेअनुसार विश्वव्यापी परिवर्तन भएको र राजनीतिज्ञ तथा वित्तीय क्षेत्रका सम्भ्रान्तहरु विरुद्ध आफ्नो भविष्यका बारेमा आफैं निर्ण गछौं भन्ने बुझाउने एकीकृत आवाज भएको बताएका छन् ।


अस्ट्रेलियाको सिड्नीमा आदिवासी समूह, कम्युनिस्ट तथा मजदुर युनियनका प्रतिनिधिसहित करिब दुई हजारले केन्द्रीय बैंकसामुन्ने प्रदर्शन गरेका थिए । मेलबनीमा करिब एक हजार र न्युजिल्यान्डका अकल्यान्ड, विलिङटन तथा क्रिस्टचर्चमा सयौंले प्रदर्शन गरेका थिए । त्यस्तै प्रदर्शन दक्षिण कोरिया, फिलिपिन्स तथा हङकमा समेत भएको छ । राज्यको कल्याण्कारी सहयोगभन्दा परिवारिक सहयोग चाहने ताइवानमा यस्तो प्रदर्शनलाई दुर्लभ मानिएको छ । ताइवानमा आर्थिक असमानता इतिहासकै सबैभन्दा बढी देखिएको छ । यस्तै किसिमको प्रदर्शन गत मेमा स्पेनको राजधानी मड्रिडमा सुरु भएको थियो ।