चितवन, कात्तिक ४ दिपावलीको अवसरमा हुन सक्ने दुर्घटनालाई मध्यनगर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले यहाँ राति नौ बजेपछि देउसी भैलो नखेल्न भनेको छ।
प्रशासन कार्यालय चितवनले सरोकारवालाबीच छलफल गरी राति नौ बजेपछि देउसी र भैलो खेल्न रोक लगाएको हो।
विगतमा राति देउसी भैलो खेल्दा विभिन्न आपराधिक क्रियाकलाप बढेको र परम्परा विपरीतका कार्यहरु भएको सन्दर्भमा यस्तो निर्णय गरिएको चितवनका निमित्त प्रमुख जिल्ला अधिकारी नन्दिकेशर त्रिपाठीले जानकारी दिए।
यस्तै, कानुनले रोकेका क्रियाकलाप नगर्न पनि प्रशासनले सबैमा अनुरोध गरेको छ। देउसी भैलो खेल्दा बढी रकम दिन कसैलाई दबाब नगर्न समेत भनिएको त्रिपाठीले बताउनु भयो।
यस्तै पटाका, जुवातास , भुइचम्पा लगायत विस्फोटक पदार्थको ओसारपसार, बेचबिखन तथा प्रयोग नगर्न, सवारी साधनमा बढी भाडा नलिन एवम् खाद्य सामग्री सुलभ र सहज रुपमा उपलब्ध गराउन पनि प्रशासनले सबैसँग अनुरोध गरेको छ।