राजनीति तथा आर्थिक संकटमा रहेको ग्रीसमा संयुक्त सरकार बन्ने भएको छ । संयुक्त सरकारको नेतृत्व छाड्न प्रधानमन्त्री जर्ज पापैन्ड्रयु राजी भएपछि गठबन्धन सरकारकालागि बाटो खुलेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कारोलोस पापुलियासको मध्यस्थतामा प्रधानमन्त्री पापैड्रयु र प्रतिपक्षी दलहरुबीच भएको छलफलमा यो सहमति बनेको हो ।
गठबन्धन सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो नलागे पनि हालका अर्थ मन्त्री इवानजेलोस वेनिलोसको नाममा सहमति बन्नसक्ने बताइएको छ । ऋणमा डुबेको ग्रीस यसबाट उम्कन अनेक प्रयत्न त गरिरहेको छ तर यही कारण राजनीतिक संकटले पनि घेरिएको छ । विपक्षी न्यू डेमोक्रेटिक पार्टी प्रमुख समारास यही मौकामा पापैड्रयुलाई सत्ताच्यूत गर्ने र तुरुन्त चुनावमा जाने पक्षमा देखिएका छन् ।