भुटानसँग आयातभन्दा निर्यात बढी

२ कात्तिक काठमाडौं । चालु आर्थिक वर्ष २०६८/२०६९ को तीन महिनाको अवधिमा नेपाल र भुटानबीचको व्यापारमा आयातभन्दा निर्यात बढी भएको देखिएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्ममा नेपालको पूर्वी नाका काँकरभिट्टाबाट तीन करोड ७९ लाख ८७ हजार रुपियाँ बराबरका सामग्री निर्यात हुँदा ५५ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।

नेपालबाट भुटान तारका जाली, लुगाधुने साबुन, चाउचाउ, क्राफ्ट पेपर मौलिक कलामा कुँदिएका मूर्तिहरू, मलखाद, ट्रान्सर्फमर, डस्ना र वनस्पतिबाट बनिएका पदार्थ जाने गरेको छ । यसैगरी दालमोट र निम्कीसमेत निर्यात हुने गरेको मेची भन्सार कार्यालयले दिएको तथ्याङ्कमा उल्लेख छ ।

यो अवधिमा चिसो पेय पदार्थ कोक, स्प्राइट विभिन्न अल्कोहल, पत्थर कोइलालगायतका दुई करोड ३० लाख ५१ हजार रुपियाँ मूल्य बराबरका सामान पैठारी भएको समेत जनाइएको छ ।