जापानमा फुकुसिमा आणविक केन्द्रमा पहिलो पटक सञ्चारकर्मीहरुलाई प्रवेश

जापानमा गत मार्चमा आएको शक्तिशाली भुकम्प र सुनामीले ध्वस्त भएको फुकुसिमा आणविक केन्द्रमा पहिलो पटक सञ्चारकर्मीहरुलाई प्रवेश दिईएको छ । सञ्चारकर्मीहरु पूर्ण सुरक्षित कपडामा आणविक केन्द्र भित्र प्रवेश गरेका थिए । यसअघि विकिरणको तह उच्च रहेको र क्षतिको सामना गर्न भैरहेका कार्यमा असर पर्ने भन्दै कुनै पनि सञ्चारमाध्यमलाई प्रवेश गर्न दिइएको थिएन ।

 

 तर अहिले आणविक केन्द्रको अवस्था विस्तारै स्थिर बन्न थाले पछि सञ्चारकर्मीलाई अवलोकन भ्रमण गराइएको अधिकारीहरले जनाएका छन् । फुकुसिमा आणविक केन्द्रका प्रमुख मासाव योशिदाले कामदारहरुको कडा परिश्रमका कारण आणविक केन्द्रको अवस्था सुधारोन्मुख रहेको बताउनुभयो ।

 

मार्चमा घटना पछि आणविक केन्द्रका चिस्यान केन्द्रहरुले काम गर्न छाड्दा त्यहाका तिन वटा रियाक्टर पग्लिएका थिए । सुनामीका कारण फुकुसिमाको ६ मध्ये चार वटा रियाक्टर क्षतिग्रस्त भएका थिए भने हाइड्रोजन ग्यास उत्सर्जनका कारण विष्फोट समेत भएको थियो ।