सिरियाले अरब लीगले आफु विरुद्ध गरेको निलम्बनको घोषणालाई खतरनाक कदम भन्दै आक्रोश व्यक्त गरेको छ । सिरियाका विदेशमन्त्री वालिद अल मौलेमले अमेरिकी उक्साहटमा अरब लीगले यस्तो निर्णय गरेको आरोप लगाउनु भएको छ । विदेशमन्त्री मौलेमले राजधानी दमस्कसमा विदेशी दूतावासमाथि राष्ट्रपति बशार अल असादका समर्थकले गरेका आक्रमण प्रति दुख व्यक्त गर्दै माफी माग्नु भएको छ । युरोपियन विदेशमन्त्रीहरुले सिरिया विरुद्ध नाकाबन्दी लगाउने विषयमा छलफल गर्न ब्रसेल्समा भेला गरिरहेको बेला मौलेमको यस्तो भनाई सार्वजनिक भएको हो ।
गत शनिवार मात्र अरब लीगले शान्ति प्रस्ताव कार्यान्वायन नगरेर सरकार विरोधी प्रदर्शनकारीमाथिको दमन कायमै राखेको भन्दै सिरियालाई लीगको सदस्यताबाट निलम्बन गरेको थियो । गत हप्ता मात्र सिरियाले राजनीतिक बन्दीहरुको रिहाई ,सडकबाट सुरक्षाकर्मीको फिर्ती , विदेशी सञ्चार माध्यमलाई सिरियामा प्रवेश र अरब लीगका अधिकारीहरुलाई सिरियाको अवस्था अनुगमनका लागि स्वीकृती दिने सम्बन्धी अरब लीगको शान्ति प्रस्ताव स्वीकार गरेको जनाएको थियो । सिरियामा गत मार्च यताको सरकार विरोधी प्रदर्शनमा ३५ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।