जोर्डनका राजा अब्दुल्लाहद्धारा राष्ट्रपति बशार अल असादलाई पद त्याग गर्न आग्रह

सिरियामा सरकार विरोधी प्रदर्शनकारी मारिने क्रम नरोकिए पछि छिमेकी मुलुक जोर्डनका राजा अब्दुल्लाहले राष्ट्रपति बशार अल असादलाई पद त्याग गर्न आग्रह गर्नु भएको छ । जोर्डनसंग सिमा जोडिएको सिरियाको दक्षिणी शहरमा सेनाको कारवाहीमा २० जना मारिए लगत्तै जोर्डनका राजाले यस्तो आग्रह गर्नुभएको हो । राष्ट्रपति असादलाई पद छोड्न आग्रह गर्ने राजा अब्दुल्लाह पहिलो क्षेत्रिय नेता हुनु हुन्छ । गत शनिवार मात्र अरब लीगले शान्ति प्रस्ताव कार्यान्वयन नगरेर सरकारले प्रदर्शनकारीमाथि दमन कायमै राखेको भन्दै सिरियालाई लीगको सदस्यताबाट निलम्बन गरेको थियो ।


अमेरिकाका लागि सिरियाली राजदुत रुअ शारवाजीले भने अरब लीगले सिरियाको समस्या समाधानमा रचनात्मक भूमिका खेल्ने आशा गरेको बताउनु भएको छ । राष्ट्रपति असादविरुद्धको प्रदर्शनको क्रममा हिजो डेराअ र होम्स शहरमा ५२ जना प्रदर्शनकारी मारिएको वताइएको छ । यसैबीच, ब्रसेल्समा बसेको युरोपेली मुलुकका विदेशमन्त्रीहरुको बैठकले राष्ट्रपति असादका नजिकका ७४ जनाको भ्रमणमा रोक लगाउनुका साथै उनीहरुको सम्पत्ति रोक्का गर्ने निर्णय गरेको छ ।

 

बैठकले युरोपियन बैंकबाट सिरियालाई दिने ऋण रोक्का गर्ने निर्णय पनि गरेको छ । सिरियामा गत मार्च यताको सरकार विरोधी प्रदर्शनमा ३५ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।