न्यूयोर्क प्रहरीले जुकोटी पार्कमा वाल स्ट्रिट कब्जा गरौं भन्दै प्रदर्शनमा उत्रिएकाहरुलाई त्यहांबाट हटाउने अभियान शुरु गरेको छ ।
पार्कमा टेन्ट बनाई रातभर बसेकाहरुलाई प्रहरीले त्यहांबाट हटाउन कारवाही थालेको हो । सुरक्षाकर्मीले एक पटक पार्कबाट सबै प्रदर्शनकारी हटेपछि पनि उनीहरु पुनः प्रदर्शनका सामग्री नलिई त्यहां आउन सक्ने जनाएको छ । क्यालिफोर्नियाको अक्ल्याण्डमा प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । आयको असमान वितरणको विरोधमा गत सेम्टेम्बरमा अमेरिकाबाट शुरु भएको प्रदर्शनबाट प्रेरित भई विश्वका थुप्रै शहरमा पनि यस्तो विरोध प्रदर्शन हुंदै आएको छ ।
प्रदर्शनकारीहरुले अभियान सञ्चालनको दुई महिना पुगेको अवसरमा विहिवार बृहद कार्यक्रमको आयोजना गर्दैछन् । कर्पोरेट संस्थाहरुको अति व्यवसायीकरण, मुनाफाखोरी र सरकारी खर्च कटौतीको विरोधमा वाल स्ट्रिट कब्जा गरौं नाम दिएर प्रदर्शन सुरु भएको थियो ।
अमेरिकाका विभिन्न शहरमा आर्थिक असमानता र ठूलो कर्पोरेट हाउसलाई बढी महत्व दिने नीति तथा धनी र गरिबबीचको बढ्दो खाडलविरुद्ध दुई महिनादेखि प्रदर्शन हुँदै आएको छ । अमेरिकामा एक प्रतिशत धनीबिरुद्ध ९९ प्रतिशतलाई बचाउने अभियानमा लागेको प्रदर्शनकारीहरुको भनाई छ ।