सिरियामा प्रदर्शनकारीमाथि दमन भएपछि उत्पन्न समस्या समाधानको उपाय खोज्न अरब लीगको बैठक मोरोक्कोमा

सिरियामा प्रदर्शनकारीमाथि दमन भएपछि उत्पन्न समस्या समाधानको उपाय खोज्न अरब लीगको बैठक मोरोक्कोमा भएको छ । राजधानी रबातमा भएको बैठकमा अरब लीगका विदेशमन्त्रीहरु सहभागी छन् ।

 

बैठकमा सिरियामा जारी हिंसा कम गर्ने उपाय खोजेर सिरियाका राष्ट्रपति बसार अल असदलाई पदत्याग गर्न दबाब बढाईने बताइएको छ । सिरियामा आठ महिनादेखि जारी सरकार विरोधी प्रदर्शनको क्रममा सोमबार ७० भन्दा बढीको मृत्यु भएको थियो ।

 

बेलायतस्थित मानवअधिकारवादी संस्थाले झपडमा २७ सर्वसाधारण, ३४ सैनिक र अन्य १२ जना मारिएको जनाएको छ । यसैबीच अन्तर्राष्ट्रिय दवावलाई ध्यानमा राख्दै सिरियाले एक हजार भन्दा बढी राजनीतिक बन्दीलाई रिहा गरेको छ । अरब लीगबाट सिरियालाई निष्काशन गरेपछि राष्ट्रपति असदमाथि पद छोड्न दबाब बढेको छ ।