अमेरिकी राष्ट्रपति बाराक ओबामाले २१ औं शताब्दीमा अमेरिकाले एसिया प्रशान्त क्षेत्रमा महत्वपूर्ण भूमिका निभाउनेमा कुनै शंका नरहेको बताउनु भएको छ ।
अष्ट्रेलिया भ्रमणका क्रममा अष्ट्रेलियाली संसदलाई सम्बोधन गर्दै ओबामाले अमेरिकाले एसिया प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य खर्च कुनै पनि हालतमा कम नहुने र आफ्नो सैन्य उपस्थिति बढाउने पनि स्पष्ट पार्नु भयो । हिजो मात्र अमेरिका र अष्ट्रेलियाबीच उत्तरी अष्ट्रेलियमा अमेरिकी लडाकु विमान र २५ सय अमेरिकी नौ सेना तैनाथ गर्ने विषयमा सहमति भएको थियो ।
ओबामाले चीनसंगको सहकार्यलाई जोड दिंदै अमेरिका प्रशान्त क्षेत्रमा ठूलो शक्तिको रुपमा रहिरहने उल्लेख गर्नु भयो । सम्बोधनका क्रममा ओबामाले चीन सहयोगी हुन सक्ने भन्दै अमेरिकी र चिनिया सेनाबीच छलफल र आपसी समझदारी बढाउनु आवश्यक भएको बताउनुभयो । उहांले चीनले अन्तर्राष्ट्रिय नियमको पालना गर्दै चिनिया जनताको मानवअधिकारको सम्मान गर्नु जरुरी भएको उल्लेख गर्नुभयो । चीनले भने अमेरिकी कदम प्रति आपत्ति जनाएको छ ।