ईजिप्टमा राष्ट्रपति होस्नी मुबारकको पतनपछि ब्यापक जन प्रदर्शन र हिंसाका वीच सैनिक परिषदको निर्देशनमा आम निर्वाचनको मतदान प्रक्रिया शुरु भएको छ ।
हजारौ प्रदर्शनकारीले कायरोको ताहारिर स्क्वाएरमा धर्ना दिईरहेको बेला चुनावी प्रक्रिया अगाडि बढाईएको हो । दुई सदनको चुनावी प्रक्रियाको पहिलो चरणा आजदेखि शुरु भएको र सम्पूर्ण प्रक्रिया आगामी मार्चमा सकिने छ ।
प्रदर्शनकारीहरुले सैनिक परिषदले सम्पूर्ण अधिकार जनताको म्याण्डेट अनुसार गठित सरकारलाई हस्तान्तरण नगरेसम्म चुनावी प्रक्रियालाई मान्यता नदिने बताएका छन् । चुनावी प्रक्रिया शुरु हुनै लाग्दा भएका हिंसाहरुमा कम्तिमा ४१ जनाको मृत्यु भएको छ भने दुई हजार भन्दा बढी घाईते भएका छन् ।
सैनिक परिषद नेतृत्व प्रदर्शनकारी प्रति अझ कठोर हुंदै गएको अन्र्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । सैनिक परिषदका प्रमुख हुसेन तान्तावीले ईजिप्ट युद्ध र शान्तिको दोसाँधमा रहेको भन्दै देश संकट मूक्त नभए गंभीर कदम चाल्ने बताएका छन् । उनले राष्ट्रपतिका प्रतिस्पर्धी मोहमद अल बारादेई र अमार मौसालाई सैनिक परिषदले मनोनीत गरेका प्रधानमन्त्री कमाल गन्जौरीलाई मान्यता दिन पनि आग्रह गरेका छन् ।
तान्तावीले प्रदर्शनका वीच मतदानलाई सुरक्षित बनाउन कडा सुरक्षा बन्दोबस्ती मिलाईएको दावी गरेका छन् ।