चीनद्धारा पाक अफगान सीमामा गत शनिवार नेटो सेनाको आक्रमणमा २४ जना पाकिस्तानी सेना मारिएकोमा चिन्ता

चीनले पाक अफगान सीमामा गत शनिवार नेटो सेनाको आक्रमणमा २४ जना पाकिस्तानी सेना मारिएकोमा चिन्ता व्यक्त गर्दै पाकिस्तानको स्वतन्त्रता, संप्रभुता र एकताको सम्मान हुनु पर्ने बताएको छ ।

 

चिनिया विदेश मन्त्रालयद्धारा जारी विज्ञप्तिमा घटनाले आफुलाई अत्यन्त चिन्तित बनाएको भन्दै गंभीर र व्यापक जांचको माग गरेको छ । चीनका विदेशमन्त्री यांग जीची र पाकिस्तानी विदेशमन्त्री हीना रब्बानी खरबीच टेलिफान वार्ता भए पछि चीनले पाकिस्तानका पक्षमा यस्तो प्रतिक्रिया सार्वजनिक गरेको हो ।

यसपछि पाकिस्तान , अमेरिका र अमेरिकी नेतृत्वको नेटोका तर्फबाट लगातार वक्तव्यहरु आइरहेका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले घटना प्रति दुख व्यक्त गरेको छ । घटना लगत्तै पाकिस्तानले नेटो सेनाले अफगानिस्तानमा खाद्य सामग्री लैजान प्रयोग गर्दै आएको बाटो बन्द गरेको छ । पाकिस्तानले नेटोको आक्रमण आफ्नो संप्रभुता माथिको आक्रमण भएको भन्दै अमेरिका र नेटोसंगको सम्बन्धमा पूर्नमूल्यांकन गर्ने जनाइसकेको छ ।