बेलायतमा सम्भवत एक पुस्ता यताकै सबैभन्दा ठूलो २४ घण्टे आमहड्तालमा लाखौ मानिस सहभागि

बेलायतमा सम्भवत एक पुस्ता यताकै सबैभन्दा ठूलो २४ घण्टे आमहड्तालमा लाखौ मानिस सहभागि भएका छन् । सरकारले अवकास अवधि बढाएर ६७ बर्ष पुर्‍याएको विरोधमा आह्वान गरिएको आमहडताल आह्वान गरिएको हो । आमहड्तालमा सार्वजनिक क्षेत्रमा कार्यरत झण्डै २० लाख कामदार सहभागी भएका अनुमान गरिएको छ ।

 

आमहड्तालबाट बेलायतका एक तिहाई स्कुल बन्द भएका छन् भने अस्पताल, विमानस्थल, बन्दरगाह र सरकारी कार्यालय समेत प्रभावित भएका छन् । सरकारी योजनाको विरोधमा विभिन्न ट्रेड युनियनहरुले आह्वान गरेको यस आमहड्तालका क्रममा बेलायतभर झण्डै एकहजार ठाउँमा प्रदर्शन भएको बताइएको छ ।

 

बेलायतका दुई ठूला विमानस्थलहरु हिथ्रो र गाट्विकमा हवाई सेवा नराम्ररी प्रभावित भएका छन् । नर्दन आयरल्याण्डमा बस र रेल सेवा ठप्प छ । सुरक्षाकर्मीहरुले विभिन्न स्थानबाट सयको संख्यामा प्रदर्शनकारी पक्राउ गरेको बताइएको छ । बेलायती अर्थमन्त्री जर्ज अस्बोर्नले आमहड्तालबाट केही पनि उपलब्धी नहुने बरु यसले बेलायती अर्थतन्त्रलाई अझै कमजोर र रोजगारीलाई झन् दुरुह बनाउने भन्दै आन्दोलनकारीहरुलाई वार्तामा आउन आह्वान गर्नुभएको छ ।

 

तर युनियनका अधिकारीहरुले भने सरकार परिणाममुखी वार्तामा सहभागि हुन नसकेको आरोप लगाएका छन् । बेलायतको विपक्षी पार्टी लेबरले आमहड्तालको पूर्ण समर्थन नगरेपनि सार्वजनिक क्षेत्रका कामदारको गुनासो सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताएको छ ।