बेलायतले लण्डनस्थित सबै इरानी कुटनीतिज्ञहरुलाई निष्काशन

इरानको राजधानी तेहरानस्थित बेलायती दूतावासमा भएको आक्रमणलाई लिएर बेलायतले लण्डनस्थित सबै इरानी कुटनीतिज्ञहरुलाई निष्काशन गर्ने निर्णय गरेको छ । बेलायती विदेशमन्त्री विलियम हकले लण्डनस्थित इरानी राजदुतावास तत्काल बन्द गर्न आदेश दिएको बताउनु भयो । बेलायतले ईरानको आण्विक कार्यक्रमलाई लिएर थप नाकाबन्दी लगाउने घोषणा गरेपछि तेहरानस्थित बेलायती दुतावासमा आक्रमण भएको थियो ।


अमेरिका, संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन लगायत विभिन्न मुलुकले कडा निन्दा गरेका छन् । यता, इरानी विदेश मन्त्रालयले घटनाप्रति दुख व्यक्त गर्दै तत्काल आवश्यक कारवाही गर्न आदेश दिएको जनाएको छ । तेहरानस्थित बेलायती दुतावासमा सयौं इरानी विद्यार्थी पसेर बेलायती नाकाबन्दीको विरोध गर्दै बेलायती झण्डा जलाएका थिए । आक्रोशित प्रदर्शनकारीले भवनमा तोडफोड गर्नुका साथै सवारी साधन समेत जलाएका थिए । गत हप्ता इरानको विवादास्पद परमाणु कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय परमाणु उर्जा एजेन्सीको रिपोर्ट आएपछि अमेरिका, बेलायत र क्यानडाले इरान विरुद्ध आर्थिक नाकाबन्दीको घोषणा गरेका थिए । त्यसपछि पश्चिमा मुलुकहरुसंग इरानको सम्बन्ध थप चिसिएको छ ।