बेलायतले निश्कासन गरेका इरानी कुटनीतिज्ञहरुको एक समुह स्वदेश फर्किए

बेलायतले निश्कासन गरेका इरानी कुटनीतिज्ञहरुको एक समुह स्वदेश फर्किएको छ । स्वदेश फर्किएका कुटनीतिज्ञहरुको स्वागतका लागि तेहेरानस्थित विमानस्थलमा जम्मा भएका इरानीहरुले बेलायतको विरोधमा चर्का नाराबाजी गरेका थिए ।

 

गत मंगलवार इरानको राजधानी तेहरानस्थित बेलायती दूतावासमा भएको आक्रमणको विरोधमा बेलायतमा रहेका २५ जना इरानी कुटनीतिज्ञहरुलाई निश्कासन गरिएको थियो । बेलायतले लण्डनमा रहेको इरानको दुतावास पनि बन्द गर्ने आदेश दिएको थियो । इरानी विद्यार्थीहरुले गरेको उक्त आक्रमणलाई बेलायतले इरानी सरकारको समर्थनमा गरिएको चलाखीपूर्ण आक्रमण भनेको छ ।

 

तेहरानस्थित बेलायती दुतावासमा सयौं इरानी विद्यार्थी पसेर इरानमाथि लगाइएको नाकाबन्दीको विरोध गर्दै बेलायतको झण्डा जलाएपछि बेलायत र इरानबीचको सम्बन्ध तनाबपूर्ण बनेको हो ।

 

बेलायतले इरानको परमाणु कार्यक्रमलाई लिएर इरानमाथि प्रतिबन्ध लगाइसकेको छ भने इरानी संसदले बेलायतसंग कुटनीतिक सम्बन्धमा पुनर्विचार गर्ने घोषणा गरिसकेको छ । इरानको विवादास्पद परमाणु कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय परमाणु उर्जा एजेन्सीको रिपोर्टको आधारमा अमेरिका, बेलायत र क्यानडाले इरान विरुद्ध आर्थिक नाकाबन्दीको घोषणा गरेका थिए ।