काठमाडौं, १९ मंसिर – अफगानिस्तानको भविष्यबारे जर्मनीको बान सहरमा सोमबार एक महत्वपूर्ण सम्मेलनको आयोजना भएको छ । तर, सम्मेलनमा अफगानिस्तानको छिमेकी मुलुक पाकिस्तानले भने भाग नलिने भन्दै बहिष्कार गरेको छ ।
दश वर्षअघि तालिनबानलाई सत्ताबाट हटाएपछि बान सहरमा अफगानिस्तानबारे छलफल गर्न सम्मेलनको आयोजना गरिएको थियो । आयोजककाअनुसार सम्मेलनको उद्देश्य अन्तर्राष्ट्रिय स्तरमा अफगानिस्तानसँगको सम्बन्ध विस्तार तथा त्यहाँ सुरक्षा कायम गर्नु हो । अफगानिस्तानको सुरक्षा व्यवस्थाका बारे छिमेकी देश पाकिस्तानको भूमिका महत्वपूर्ण मानिन्छ । तर, २६ नोभेम्बरमा पाकिस्तानी चेकपोस्टमा भएको नेटोको एक आक्रमणपछि पाकिस्तान रुष्ट बनेको छ ।
यद्यपी उक्त घटनालाई लिएर नेटो तथा अमेरिकी राष्ट्रपति बाराक ओबामाले पाकिस्तान सरकारसँग माफी मागिसकेका छन् । अमेरिका र अन्य पश्चिमी देशहरुलाई पाकिस्तानले तालिबान तथा हक्कानी नेटवर्कजस्ता चरमपन्थि संगठनलाई प्रश्रय दिन्छ भन्ने आंशका छ । पर्यवेक्षकहरु लामो समयसम्म अफगानिस्तानलाई सहयोग दिनुपर्ने बताउँछन् यसले २०१४ सम्म अफगानिस्तानबाट पश्चिमी देशहरु हट्ने योजना सफल हुन सहयोग गर्ने छ । सम्मेलनमा १ सय भन्दा धेरै देश तथा संगठनका १ हजारभन्दा बढी प्रतिनिधिहरु सहभागी हुँदैछन् । अमेरिकाकी विदेश मन्त्री हिलारी क्लिन्टनका साथै अमेरिकाका वरिष्ठ मन्त्रीहरु पनि सम्मेलनमा सहभागी हुँदै छन् ।
पाकिस्तान र अफगानिस्तानको सीमामा पछिल्लो १ दशकयता निकै ठूलो संघर्ष चल्दै आएको छ । अफगानिस्तानमा अहिलेसम्म ५ सय नेटो सैनिक मारिएका छन् । जर्मनीका विदेशमन्त्री गुइडो वेस्टरविलेले भनेका छन् ूहाम्रो उद्देश्य शान्ति पूर्ण अफगानिस्तान हो, आगामी दिनमा अफगानिस्तान अन्तर्राष्ट्रिय आतंकवादका अड्डा नबनोस ।ू